‘साना तथा मझौला व्यवसायीलाई सरकारले प्रत्यक्ष नगद नै सहयोग गर्नुपर्छ, उनीहरुको पूँजी ‘वाइप आउट’ भइसक्यो’
पशुपति मुरारका
प्रकाशित : 1:30 pm, बिहीबार, वैशाख ११, २०७७

बाटोमा ५ नम्बरको गियरमा चलिरहेको गाडी एकैपटक झ्याप्पै रोकिएपछि फेरी तुरुन्तै त्यही गतिमा गाडी उठाउन सकिँदैन । गियर फेरी १ नम्बरमा झार्नुपर्यो त्यसपछि विस्तारै गियर बढाउँदै लगेर ५ नम्बरमा पुर्याउन १२–१५ सेकेण्ड त लागिहाल्छ, सामान्य गाडीहरुमा ।

 

नेपाली उद्योग व्यवसायहरुको पनि अहिलेको अवस्था त्यस्तै हो । फराकिलो बाटोमा ५ नम्बर गियरमा गुडिरहेको बेलामा झ्याप्पै रोकिएको छ । अब फेरी स्टार्ट गरेर अघि बढाउन केही समस्याहरु छन् ।

 

लकडाउन पछि उद्योगहरु सञ्चालन गर्नका लागि मैले देखेको प्रमुख समस्या भनेको पूँजीको (वर्किङ क्यापिटल) हो । यस्तो समयमा बजारमा गएका सामानहरुको पैसा उठ्दैन । त्यसैले फेरी उत्पादन सुचारु गर्नका लागि अतिरित्त पूँजीको आवश्यकता पर्छ । यो नै मेरो विचारमा प्रमुख समस्या हो ।

 

ठूला उद्योग व्यवसायहरुलाई व्याज, किस्ता तिर्ने समय आदि क्षेत्रमा सहयोग दिन सकिन्छ भने साना तथा मझौला व्यवसायहरुलाई नगद नै दिनुको विकल्प छैन

 

दोस्रो प्रमुख समस्या भनेको डर र त्रासको वातावरण हो । यस्तो खाले महामारी हाम्रो पुस्ताले अहिलेसम्म भोगेको थिएन । यस्तो महामारी कतिन्जेल जान्छ भन्ने थाहा छैन । यस्तो त्रासको वातावरणमा लकडाउन हटेपनि कामदारहरुलाई बोलाएर सामान बनाएर बजारमा पठाउन कसरी सकिएला ?

 

कुनै ठाउँमा फेरी संक्रमण भयो कि फेरी सिल भइहाल्छ । यो भाइरसको औषधी नआएसम्म यो त्रास हट्ला जस्तो मलाई लाग्दैन । त्यसैले यो त्रास पनि उद्योग व्यवसायहरु पूर्ण रुपमा सञ्चालनमा ल्याउनको लागि प्रमुख समस्या हो ।

 

अर्को समस्या भनेको भारत लगायत अन्य देशहरुमा बढिरहेको संक्रमण हो । हाम्रा कच्चा पदार्थहरु बिभिन्न देशहरुबाट आउने हुन् । अब त्यस्ता देशहरु पनि पूर्ण रुपमा सहज अवस्थामा नआएसम्म व्यवसाय सहज रुपमा सञ्चालन हुन सक्दैन । एयरलाइन्स र कुरिअर सेवाहरु पनि बन्द छन् ।

 

अब सरकारले पनि उद्योग व्यवसायहरु सञ्चालनमा ल्याउनको लागि कसरी सहजकर्ताको भूमिका खेल्छ, त्यो पनि महत्वपूर्ण विषय हो ।
मूलरुपमा उद्योग व्यवसाय पुर्नसञ्चालनको समस्या र बाधकहरु यिनै हुन् जस्तो लाग्छ ।

 

सरकारले खेल्नुपर्ने भूमिकाहरु

 

सरकारले गर्नुपर्ने पहिलो काम भनेको त विभिन्न उद्योग तथा व्यवसायहरुमा परेको प्रभावको मूल्याङ्कन हो । सबै व्यवसायमा उस्तै खाले प्रभाव परेको छैन । सिनेमा हल, मनोरञ्जन गर्ने ठाउँहरु, रेष्टुरेन्ट जस्ता व्यवसायमा धेरै प्रभाव परेको होला भने डिजिटल व्यवसायहरुमा कम प्रभाव परेको होला । यसैका आधारमा कसलाई कसरी सहयोग गर्ने भनेर नीति ल्याउनुपर्छ ।

 

सरकारले खेल्नु पर्ने अर्को महत्वपूर्ण भूमिका भनेको आर्थिक सहयोगको हो । ठूला उद्योग व्यवसायहरुलाई व्याज, किस्ता तिर्ने समय आदि क्षेत्रमा सहयोग दिन सकिन्छ भने साना तथा मझौला व्यवसायहरुलाई नगद नै दिनुको विकल्प छैन । सरकारले उनीहरुलाई प्रत्यक्ष नगद नै दिएर सहयोग गरेन भने उनीहरु फेरी व्यवसाय सञ्चालन गर्ने अवस्थामा हुने छैनन् । उनीहरुको पूँजी ‘वाइप आउट’ भइसकेको छ ।

 

त्यसपछि त दीर्घकालीन योजनाहरुको कुरा भयो । धेरै मानिसहरु वैदेशिक रोजगारीबाट नेपाल फर्किनेवाला छन् । उनीहरुलाई कुन क्षेत्रमा कसरी ‘इन्गेज’ गराउने भन्ने महत्वपूर्ण कुरा हो ।