‘साना तथा मझौला व्यवसायीलाई सरकारले प्रत्यक्ष नगद नै सहयोग गर्नुपर्छ, उनीहरुको पूँजी ‘वाइप आउट’ भइसक्यो’

बाटोमा ५ नम्बरको गियरमा चलिरहेको गाडी एकैपटक झ्याप्पै रोकिएपछि फेरी तुरुन्तै त्यही गतिमा गाडी उठाउन सकिँदैन । गियर फेरी १ नम्बरमा झार्नुपर्यो त्यसपछि विस्तारै गियर बढाउँदै लगेर ५ नम्बरमा पुर्याउन १२–१५ सेकेण्ड त लागिहाल्छ, सामान्य गाडीहरुमा ।

 

नेपाली उद्योग व्यवसायहरुको पनि अहिलेको अवस्था त्यस्तै हो । फराकिलो बाटोमा ५ नम्बर गियरमा गुडिरहेको बेलामा झ्याप्पै रोकिएको छ । अब फेरी स्टार्ट गरेर अघि बढाउन केही समस्याहरु छन् ।

 

लकडाउन पछि उद्योगहरु सञ्चालन गर्नका लागि मैले देखेको प्रमुख समस्या भनेको पूँजीको (वर्किङ क्यापिटल) हो । यस्तो समयमा बजारमा गएका सामानहरुको पैसा उठ्दैन । त्यसैले फेरी उत्पादन सुचारु गर्नका लागि अतिरित्त पूँजीको आवश्यकता पर्छ । यो नै मेरो विचारमा प्रमुख समस्या हो ।

 

ठूला उद्योग व्यवसायहरुलाई व्याज, किस्ता तिर्ने समय आदि क्षेत्रमा सहयोग दिन सकिन्छ भने साना तथा मझौला व्यवसायहरुलाई नगद नै दिनुको विकल्प छैन

 

दोस्रो प्रमुख समस्या भनेको डर र त्रासको वातावरण हो । यस्तो खाले महामारी हाम्रो पुस्ताले अहिलेसम्म भोगेको थिएन । यस्तो महामारी कतिन्जेल जान्छ भन्ने थाहा छैन । यस्तो त्रासको वातावरणमा लकडाउन हटेपनि कामदारहरुलाई बोलाएर सामान बनाएर बजारमा पठाउन कसरी सकिएला ?

 

कुनै ठाउँमा फेरी संक्रमण भयो कि फेरी सिल भइहाल्छ । यो भाइरसको औषधी नआएसम्म यो त्रास हट्ला जस्तो मलाई लाग्दैन । त्यसैले यो त्रास पनि उद्योग व्यवसायहरु पूर्ण रुपमा सञ्चालनमा ल्याउनको लागि प्रमुख समस्या हो ।

 

अर्को समस्या भनेको भारत लगायत अन्य देशहरुमा बढिरहेको संक्रमण हो । हाम्रा कच्चा पदार्थहरु बिभिन्न देशहरुबाट आउने हुन् । अब त्यस्ता देशहरु पनि पूर्ण रुपमा सहज अवस्थामा नआएसम्म व्यवसाय सहज रुपमा सञ्चालन हुन सक्दैन । एयरलाइन्स र कुरिअर सेवाहरु पनि बन्द छन् ।

 

अब सरकारले पनि उद्योग व्यवसायहरु सञ्चालनमा ल्याउनको लागि कसरी सहजकर्ताको भूमिका खेल्छ, त्यो पनि महत्वपूर्ण विषय हो ।
मूलरुपमा उद्योग व्यवसाय पुर्नसञ्चालनको समस्या र बाधकहरु यिनै हुन् जस्तो लाग्छ ।

 

सरकारले खेल्नुपर्ने भूमिकाहरु

 

सरकारले गर्नुपर्ने पहिलो काम भनेको त विभिन्न उद्योग तथा व्यवसायहरुमा परेको प्रभावको मूल्याङ्कन हो । सबै व्यवसायमा उस्तै खाले प्रभाव परेको छैन । सिनेमा हल, मनोरञ्जन गर्ने ठाउँहरु, रेष्टुरेन्ट जस्ता व्यवसायमा धेरै प्रभाव परेको होला भने डिजिटल व्यवसायहरुमा कम प्रभाव परेको होला । यसैका आधारमा कसलाई कसरी सहयोग गर्ने भनेर नीति ल्याउनुपर्छ ।

 

सरकारले खेल्नु पर्ने अर्को महत्वपूर्ण भूमिका भनेको आर्थिक सहयोगको हो । ठूला उद्योग व्यवसायहरुलाई व्याज, किस्ता तिर्ने समय आदि क्षेत्रमा सहयोग दिन सकिन्छ भने साना तथा मझौला व्यवसायहरुलाई नगद नै दिनुको विकल्प छैन । सरकारले उनीहरुलाई प्रत्यक्ष नगद नै दिएर सहयोग गरेन भने उनीहरु फेरी व्यवसाय सञ्चालन गर्ने अवस्थामा हुने छैनन् । उनीहरुको पूँजी ‘वाइप आउट’ भइसकेको छ ।

 

त्यसपछि त दीर्घकालीन योजनाहरुको कुरा भयो । धेरै मानिसहरु वैदेशिक रोजगारीबाट नेपाल फर्किनेवाला छन् । उनीहरुलाई कुन क्षेत्रमा कसरी ‘इन्गेज’ गराउने भन्ने महत्वपूर्ण कुरा हो ।

प्रधानमन्त्री ओलीले लगाए 'ब्याक गियर', अध्यादेश फिर्ता लिने Read Previous

प्रधानमन्त्री ओलीले लगाए 'ब्याक गियर', अध्यादेश फिर्ता लिने

कोरोना संक्रमित आमाले जन्माइन स्वस्थ शिशु Read Next

कोरोना संक्रमित आमाले जन्माइन स्वस्थ शिशु