काठमाडौं । विनाशकारी भूकम्प गएको ५ वर्षसम्ममा ६३ प्रतिशत निजी आवासको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पबाट क्षति भएकामध्ये ४ लाख ९४ हजार ४४ लाभग्राहीको निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ ।
यस्तै, थप १ लाख ९० हजार १ सय ४५ अर्थात् २५ प्रतिशत लाभग्राही निजी आवास पुनर्निर्माणको चरणमा रहेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार हालसम्म समग्रमा पुनर्निर्माणको ८८ प्रतिशत प्रगति भएको छ ।
भूकम्पबाट क्षतिग्रस्त भएका पुनर्निर्माणका क्रममा हालसम्म ३ खर्ब ८१ अर्ब रुपैयाँ खर्च भएको जनाएको छ। जसमा सरकार र दातृ निकायबाट ३ खर्ब ९ अर्ब रुपैयाँ र गैरसरकारी संस्थामार्फत ७२ अर्ब रुपैयाँ खर्च गरिएको जनाएको छ ।
निजी आवास पुनर्निर्माणका क्रममा करिब ५ लाख गुनासो सम्बोधन भएको र प्राधिकरणबाट भएको गुनासो सुनुवाइमा पनि चित्त नबुझ्नेहरूका लागि पुनरावेदन समितिमार्फत समस्या समाधान गर्ने व्यवस्था मिलाइएको प्राधिकरणको भनाइ छ।
प्राधिकरणका अनुसार भूकम्पबाट क्षतिग्रस्त कुल ७ हजार ५ सय ५३ विद्यालयमध्ये ५ हजार ५ सय ९८ अर्थात् ७४ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ। १ हजार ४ सय ९२ अर्थात २० प्रतिशत विद्यालय पुनर्निर्माणको क्रममा छन्।
१ हजार ४ सय ९२ अर्थात २० प्रतिशत विद्यालय पुनर्निर्माणको क्रममा छन्। यस्तै ३२ जिल्लाका ९ सय २० वटा सम्पदामध्ये ४ सय २ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ भने १ सय ४१ वटा सम्पदा पुनर्निर्माणको चरणमा छन्।
कुल ४ सय १५ सरकारी भवनमध्ये ३ सय ४९ वटा अर्थात ८४ प्रतिशत सरकारी भवनको पुनर्निर्माण सम्पन्न भइसकेको छ। ४९ वटा पुनर्निर्माणको चरणमा छन्। तीमध्ये धेरै सम्पन्न हुने चरणमा छन्।