९ महिनामा २२ अर्बको औषधि आयात

काठमाडौं । चालू आर्थिक वर्षको ९ महिना (साउन-चैत्र) सम्म २१ अर्ब ९७ करोड ६४ लाख रुपैयाँ बराबरको औषधि तथा औषधिजन्य वस्तु आयात भएको छ । गत वर्ष सोही अवधिमा २३ अर्ब २० करोड ९७ लाख रुपैयाँ बराबरको औषधि आयात भएको थियो ।

 

चालू आर्थिक वर्षमा गत आवको तुलनामा १ अर्ब २३ करोड ३३ लाख रुपैयाँ बराबरको औषधिजन्य वस्तु आयातमा कमी आएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

 

पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) का कारण देशभर लकडाउन गरिएको छ । भारतका सबै नाकामा अत्यावश्यक वस्तु बाहेकका सामग्री आयाततमा रोक लगाइएको छ । जेनेरिक औषधिको सबभन्दा ठूलो आपूर्तिकर्ता भारतले प्यारा सिटामोलसहित २६ प्रकारका औषधि तथा तिनको कच्चा पदार्थ निर्यातमा रोक लगाएको थियो । यद्यपि हाल २४ प्रकारका औषधिमा लगाएको प्रतिबन्ध भने खुला गरेकोछ ।

 

चीनको नाका केही समय यता खुल्ला गरिएको छ । त्यसो भएता पनि चीनमा औषधि उद्योगहरु राम्रोसँग सञ्चालनमा आउन सकेका छैनन् ।
नेपाल धेरै औषधिहरु भारत हुँदै आयात हुने गर्छन् । जसको प्रभाव नेपालमा परेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

 

नेपाल औषधि उत्पादक संघले भने नेपालमा ३ महिनाका लागि औषधि उत्पादनमा आवश्यक पर्ने कच्चा पदार्थ रहेको दाबी गरेको छ । संघका अनुसार प्याकेजिङका लागि समेत आवश्यक पर्ने सामग्री ३ महिना पुग्ने गरी रहेको छ । हाल देशभर ६२ वटा औषधि उद्योगहरु रहेका छन् ।

 

गत आर्थिक वर्षमा कुल ३० अर्ब ११ करोड ८२ लाख रुपैयाँ बराबरको औषधि तथा औषधिजन्य वस्तुहरु आयात भएको थियो । आर्थिक वर्ष २०७४/७५ मा कुल २७ अर्ब २७ करोड ७८ लाख रुपैयाँ बराबरको औषधि तथा औषधिजन्य वस्तु आयात भएको थियो ।

 

नेपालमा भारतबाट सबैभन्दा धेरै मात्रामा औषधि तथा औषधिजन्य वस्तु आयात हुने गर्छ । फ्रान्स, स्वीडेन, अमेरिका, चीन, पोर्चुगल, जर्मन, डेनमार्क, स्वीजरल्याण्ड, थाइल्याण्ड, इटली लगायतका देशहरुबाट औषधि आयात हुँदै आएको छ ।

दक्षिण अफ्रिकामा २६ अर्ब डलरको राहत प्याकेज घोषणा Read Previous

दक्षिण अफ्रिकामा २६ अर्ब डलरको राहत प्याकेज घोषणा

शिक्षामा प्रविधिको प्रयोग : बन्दाबन्दीमा घर नै बन्यो विद्यालय Read Next

शिक्षामा प्रविधिको प्रयोग : बन्दाबन्दीमा घर नै बन्यो विद्यालय