‘बैंकिङ क्षेत्रमा समस्या परे सहकारीमा पनि समस्या आउँछ’

काठमाडौं । सहकारी विभागका रजिष्टार डा. टोकराज पाण्डेले कोरोनका कारण नेपालको बैंकिङ क्षेत्रमा समस्या आएको खण्डमा सहकारीमा पनि समस्या देखिने बताएका छन् ।

 

नेपाल सहकारी पत्रकार समाले आयोजना गरेको भिडीयो कनफ्रेन्समा रजिष्टार पाण्डेले सहकारी क्षेत्रले उत्पादनमूलक क्षेत्रमा लगानी नगरी वाणिज्य बैंकमा राख्दा बैंकमा समस्या आएको खण्डमा सहकारीमा पनि समस्या आउने बताएका हुन ।

 

उनले सहकारी महासंघ र सहकारी अभियानलाई आर्थिक ऐनमा समावेश गर्न आवश्यक सुझाव दिन पनि आग्रह गरेका छन् । उनले भने ‘सहकारीलाई पनि राज्यले बैंकलाई दिएको जस्तो सेवा आवश्यक पर्ने भएकोले त्यस्तो सुझाव दिनुपर्छ ।’ आगामी दिनमा सहकारी सस्थाहरु कसरी चलाउने भन्ने निकै चुनौनी बढेको पनि उनको भनाइ छ ।

 

उनले भने ‘अहिले सहकारीको पैसा सहकारीमा छैन, वाणिज्य बैंकमा छ । बैंक समस्यामा पर्दा सहकारी पनि समस्यामा पर्छन ।’ छलफलको क्रममा सदस्यहरुले समस्या परेको समयमा गर्जो टार्नका लागि बचत गरेको भएकाले त्यो बचत बचतकर्ताले चाहेको समयमा पाउन सक्ने वातावरण बनाउनु पर्ने बताए ।

 

उनले आगामी आवको बजेटमा सहकारीको सिलिङ घटेर आएको भन्दै घटेको बजेटमा काम गर्नुपर्ने अवस्था रहेको पनि जानकारी गराए । उनले भने ‘अहिले सहकारीमा दुई खाले समस्या देखिएको छ । पहिलो समस्या भनेको लकडाउन खुल्नासाथ सदस्य सहकारीमा पैसा निकाल्न आए पनि सहकारी कसरी चल्ने, वा सहकारीले बैंकको भन्दा बढी ब्याज दिन्छन भनेर पैसा ननिकाल्न पनि सक्छन । यो भनेको हाम्रोलागि चुनौती पनि हो ।’

 

रजिष्टार पाण्डेले आगामी दिनमा सहकारी क्षेत्रले पनि सहुलियतपूर्ण कर्जा दिने व्यवस्था गर्न आवश्यक रहेको बताए । उनले ‘उक्त विषयमा अर्थ मन्त्रालयमा प्रस्ताव पनि पेश गरेका छौं । अब सहकारीले सहुलियतपूर्ण कर्जाको साथै युवा स्वरोजगार कोषको पैसा नदिने हो भने सहकारीमा तरलताको चरम अभाव हुनेछ ।’

 

उनले फरक प्रसङगमा प्रदेशका केही सहकारीहरुले फरक प्रकृतिको ऋणमा छुट दिन थालिसकेको जानकारी गराए । फरक प्रकृतिका कर्जाका ब्याजको विषयमा छलफल भइरहेको र निर्णयमा पुगिनसकेको उनको भनाइ छ ।

 

उनले सहकारी संस्थाहरुलाई समस्यालाई अवसरको रुपमा लिन आग्रह गरेका छन् । सहकारी आगामी दिनमा प्रविधिमैत्री हुन आवश्यक रहेको पनि रजिष्ट्रार पाण्डेको भनाइ छ ।

 

छलफलमा सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले कोरोनाका कारण कृषि क्षेत्रमा निकै असर परेको बताए । उनका अनुसार कोल्ड स्टोरको अभावमा कृषि सहकारीका सदस्यले उत्पादन गरेको तरकारी खेर गएको बताए ।कृषि सहकारीहरुले तरकारी संकलन गरेको बजारिकणमा सहयोग गरेका कारण कृषकको उत्पादनमा धेरै खेर जान नपाएको बताए ।

 

अध्यक्ष कंडेलका अनुसार मौरीबाट ५ करोड क्षती भएको, ८ लाख मालिक मौरीसँग दौडन नसकेर मह मौरीले नै खाँदा ५ करोड क्षती भएको सहकारीबाट संकलन भएको ६ लाख लिटर दूधमा ३ लाख खेर गएको, चियामा ६ करोड रुपैयाँ क्षती भइसकेको जानकारी गराए ।

 

अध्यक्ष कंडेलका अनुसार कृषकले मल, बीउ नपाउने समस्या रहेको भन्दै यो समस्या तत्काल समाधान हुन आवश्यक रहेको बताए । सहकारीले सदस्यलाई सेवा दिन खोजे पनि पास अभावको कारण समस्या भएको भन्दै केही सहकारीहरुले सेवा केन्द्रमार्फत सेवा दिइरहेको बताए ।

 

सहकारी संस्थाहरुले ब्याजदरका साथै समग्र सहकारीको क्षेत्रमा सहुलियत दिनको लागि सहकारी अभियान, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग बसेर छलफल गर्ने बताए ।

 

सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्री गुरागाईले लकडाउन खुलेपछि सदस्यहरु आएर धमाधम बचत निकाल्न थालेको खण्डमा कस्तो अवस्था आउने हो त्यसमा सबै अहिले नै सचेत हुनुपर्ने बेला आएको बताए ।

 

उनले अबका दिनका सहकारी संस्थाहरु पूर्ण रुपमा प्रविधिमैत्री बन्नु पर्ने पनि बताए । उनले सहकारी बैंकले राष्ट्र बैंकले भने जसरी नै चैतबाट ब्याजमा छुट दिन थालेको पनि जानकारी गराए ।

भक्तपुर नगरपालिकामा कोरोना भाइरस परीक्षण सुरु Read Previous

भक्तपुर नगरपालिकामा कोरोना भाइरस परीक्षण सुरु

ट्रम्पद्वारा ‘आप्रवासन भिसा’ रोक्ने घोषणा Read Next

ट्रम्पद्वारा ‘आप्रवासन भिसा’ रोक्ने घोषणा