स्वास्थ्य सामग्री लिन श्री एयरलाइन्स सिंगापुर जाने

काठमाडौं । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले भोलि (मंगलबार) सिंगापुरका लागि चार्टर्ड उडान भर्ने भएको छ ।

 

सिंगापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन श्रीले चार्टर्ड उडान गर्न अनुमति लिएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

 

यो चार्टर उडानका लागि भारत, बङ्गलादेश, म्यान्मा, थाइल्याण्डलगायत मुलुकसँग ‘ओभरफ्लाई’ को अनुमति लिनुपर्ने आवश्यक प्रक्रिया पूरा भइसकेको छ ।

 

कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले सिंगापुरबाट स्वास्थ्य सामग्री ल्याउनका लागि उडान अनुमति पाएको जानकारी दिए । मंगलबार बिहान सिंगापुर उडान भरेर श्रीको जहाज भोलि नै काठमाडौं फर्कनेछ ।

 

श्रीले सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत निःशुल्क चार्टर्ड उडान गर्न लागेको जनाएको छ । यसअघि आवश्यक प्रक्रिया पूरा गरेर श्रीले शुक्रबार सिंगापुर उडान भर्ने योजना बनाएको भए पनि सिङ्गापुरको कम्पनीकोतर्फबाट सामान जम्मा गर्न केही विलम्ब भएको जवाफ दिएपछि उडान हुन नसकेको श्री एयरलाइन्सले जनाएको छ । श्री एयरलाइन्सले यसअघि सुडानमा चार्टर्ड उडान गरेको थियो ।

डिजिटल माध्यमबाट बिल भुक्तानी गर्न इन्टरनेट सेवा प्रदायकको आग्रह Read Previous

डिजिटल माध्यमबाट बिल भुक्तानी गर्न इन्टरनेट सेवा प्रदायकको आग्रह

लकडाउनका कारण यार्सागुम्बा टिप्न रोक, राजस्व प्रभावित Read Next

लकडाउनका कारण यार्सागुम्बा टिप्न रोक, राजस्व प्रभावित