काठमाडौं । एनआइसी एशिया बैंकले लकडाउनलाई मध्यनजर गर्दै आपतकालीन अवस्थामा खाद्यान्न सामग्री ग्राहकको घरमै पुर्याएर विक्री गरिरहेका व्यवसायीलाई क्यूआर कोड प्रदान गर्ने भएको छ ।
धेरै समयको लकडाउनको कारण बैंकका ग्राहकसँग नगद अभाव हुन सक्ने तथा एटीएमसम्म पुग्न समेत नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै बैंकले यस्तो योजना ल्याएको छ । ग्राहकले मोबाइल बैंकिङको प्रयोग गरी क्यूआर कोडबाट खरिद गरेको सामग्रीको रकम भुक्तानी गरेपछि सीधै सम्बन्धित व्यवसायीको बेैंक खातामा जम्मा हुन्छ ।
नेपाल राष्ट्र बैंकले गत चैत ९ गतेदेखि मोबाइल बैंकिङबाट गर्न सकिने भुक्तानी कारोबारको अधिकतम सीमा बढाएसँगै ग्राहकले मोबाइल बैंकिङ ( क्यूआर कोडसमेत) बाट प्रतिदिन १ लाख तथा प्रतिमहिना १० लाख रुपैयाँसम्म कारोबार गर्न सक्नेछन् ।
कोरोनासँगको लडाइमा सरकारलाई साथ दिन बैंकले सरकारबाट अनुमति प्राप्त अति आवश्यक खाद्यान्न तथा सेवा प्रदान गर्ने व्यवसायीहरूलाई बैंकमा उपस्थित नभई ईमेल मार्फत निम्न विभिन्न प्रक्रिया अपनाई सहज रुपमा क्यूआर कोड प्रदान गर्ने भएको छ ।
बैंकको क्यूआर कोड लिन निम्न प्रक्रिया अपनाउनु पर्छ :
—सर्वप्रथम व्यवसायीहरूले बैंकको इमेल ठेगाना [email protected] मा आफूले गर्ने व्यवसायको प्रकृति खुलाई क्यूआर कोड सेवा लिन इच्छुक रहेको व्यहोरा सहितको ईमेल गर्नुपर्नेछ । उक्त ईमेलमा सम्बन्धित व्यवसायीको एन आई सी एशिया बैंकमा खोलिएको कम्पनीको खाताको नाम, खाता नम्बर, ईमेल ठेगाना र सम्पर्क नम्बर समेत उल्लेख भएको हुनुपर्नेछ ।
—बैंकले उक्त इमेल पाइसकेपछि सम्पर्क नम्बरमा बैंकको सम्बन्धित विभागबाट व्यवसायीलाई सम्पर्क गर्ने छ ।
—बैंकले व्यवसायीलाई सम्पर्क गरे पश्चात उक्त QR प्रदान गर्न भर्नु पर्ने आवश्यक फारम व्यवसायीलाई इमेल मार्फत प्रदान गर्नेछ ।
—व्यवसायीले त्यस पश्चात बैंकबाट प्राप्त फारम भरि सम्बन्धित व्यक्तिको हस्ताक्षर गराई कम्पनीको छाप समेत लगाएर बैंकलाई इमेलमार्फत जानकारी गर्नुपर्नेछ ।
—त्यसपछि बैैंकले आवश्यक प्रकृया पूरा गरी व्यवसायीलाई सुरक्षित उपाय अपनाई इमेल मार्फत पूरा QR Code प्रदान गर्नेछ । साथै सम्बन्धित व्यवसायीले बैंकबाट प्राप्त QR Code स्वयम् प्रिन्ट गरी ग्राहक महानुभावहरूसँग मोबाइल बैंकिङ मार्फत भुक्तानी लिन सक्नुहुनेछ ।
—कोरोनाको महामारी समाप्त भई आवतजावत सामान्य भइसकेपछि बैंकले नियमित रुपमा प्रदान गर्ने QR Standee व्यवसायीलाई प्रदान गर्नेछ र जुन व्यवसायीले आफूले व्यवसाय गर्ने स्थानमा राख्न सक्नुहुनेछ । व्यवसायीहरूको आवश्यकता अनुसार बैंकले एक भन्दा बढी पनि QR Standee प्रदान गर्नेछ ।