वैदेशिक रोजगारीमा गएका कामदार उच्च जोखिममा, रेमिट्यान्स झण्डै १ खर्ब घट्ने

काठमाडौं । विश्वव्यापी कोरोना भाइरस महामारीका कारण चालू आर्थिक वर्षमा नेपालको रेमिटयान्स आय करीब १० प्रतिशतले घट्ने देखिएको छ । नेपाली श्रमिकको रोजगार गन्तव्य मुलुकमा गरिएको लक डाउनका कारण वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली कामदार उच्च जोखिममा रहेका छन्, थुप्रै मुलुकले श्रमिक कटौतीको नीति समेत लिइरहेका छन् । यसबाट नेपालको रेमिटयान्स आय दुई अंकको दरमै घट्ने देखिएको सरोकारावालाले बताएका छन् ।

 

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले शुक्रबार आयोजना गरेको भिडियो कन्फरेन्समा सहभागी सम्बन्धित क्षेत्रका विज्ञहरुले यस्तो बताएका हुन् । कोरोना कारण धेरैले मुलुकहरले श्रमिक कटौती गरेका छन् । फलस्वप वैदेशिक रोजगारीमा गएका नेपालीहरुको कामदाहरु पनि श्रमिक कटौतीमा परेका छन् । जसका कारण यो वर्ष नेपाल भित्रने रेमिट्यान्स १० प्रतिशत घट्न सक्ने अनुमान गरिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुणाकर भट्टले बताए ।

 

गत आर्थिक वर्षमा नेपालमा ८ खर्ब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । चालु आवमा केन्द्रिय बैंकले चालू आवमा ५ प्रतिशतले रेमिट्यान्स बढ्ने अनुमान गरिएको थियो । तर, यो वर्ष ८ खर्ब पनि रेमिट्यान्स भित्रन नसक्ने केन्द्रिय बैंकको अनुमान छ । ‘गत वर्ष १६ दशमलव ५ प्रतिशतले रेमिट्यान्स आप्रवाह बृद्धि भएको थियो, यो वर्ष हामीले सामान्य ५ प्रतिशत बढेर ९ खर्बको हाराहारीमा पुग्ने अनुमान गरेका थियौ,’ उनले भने, ‘तर, कोरोना महामारीले श्रम बजारलाइृ प्रभावित पारेका कारण रेमिटयान्स आय पनि घट्ने देखिएको छ ।’

 

केन्द्रीय बंैकका प्रवक्ता भट्टले बहुपक्षिय साझेदारसँग ऋण सहयोग भरपुर प्रयोग गर्नुपर्ने बताए । यतिबेला विश्व बैंक, एशियाली विकास बैंक जस्ता संस्थाबाट सहयोग लिन सकिने उनले बताए । ‘सामान्य अवस्थामा त हामी आईएमएफ जस्तो संस्थासँग सहयोग लिँदैनौ । तर, यतिबेला आईएमएफले नै सरकारको बजेटरी सपोर्टमा प्रयोग गर्न सकिने भन्ने शर्तमा सहयोग गर्न सक्ने भनेको छ । त्यसैले त्यस्तो सहयोगलाई पनि सरकारको साधन परिचालनमा प्रयोग गर्न सकिन्छ,’ उनले भने । त्यस्तै, एआईबीको सहयोगलाई पनि परिचालन गर्न सकिने उनले बताए ।

 

संक्रमणका कारण नेपालको आर्थिक अवस्था पनि प्रभावित हुन्छ । त्यसैले यस्तो जोखिमलाई कम गर्न हामीले हाम्रा प्राथमिकताको निर्धारण गर्नुपर्ने राष्ट्र बैंकका प्रवक्ता भटट्ले बताए । नेपालको कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको २७ प्रतिशत योगदान हुन्छ । यद्यपि हामीले वर्षेनी १ खर्ब बराबरको आधारभूत कृषि जन्य वस्तुको आयात गरि रहेका छौं । तर, हामीले चाहयो भने यो आयातलाई व्यवस्थपन गर्न सक्छौ । ‘खुल्ला अर्थतन्त्रमा प्रतिस्धापन गर्न गारो हुन्छ । तर, आधारभूत कृषि जन्य सामाग्रीमा आत्मनिर्भर हुन सकिन्छ,’ उनले भने । यसबाट पनि वर्षेनी १ खर्ब बराबरको व्यापार घाटा कम गर्न सकिने उनले बताए । यसैगरी जलविद्युत् परियोजनाबाट पेट्रोलियम पदार्थको आयातमा कम गरी व्यापार घाटा कम गर्न सकिने उनले बताए ।

 

नेपाल राष्ट्र बैंकले बहुक्षीय सस्थाहरुबाट कर्जा लिएर नीजि क्षेत्रलाई सहुलियत पूर्ण कर्जा दिनु राम्रो विकल्प हुन सक्ने केन्द्रीय बैंकका प्रवक्ता भट्टले बताए । सहयोगी संस्थाहरु पनि यस विषयमा सकरात्मक रहेको उनले बताए । यसले नीजि क्षेत्रलाई उत्पादनको वातावरण सृजना हुने उनले दाबी गरे । प्रवक्ता भट्टले पछिल्लो समयमा बंैकिङ क्षेत्रको ब्याजदर स्थायित्व रहेको बताए । ‘अर्थतन्त्रमा स्थिर ब्याजदर महत्वपूर्ण हो । पछिल्लो एक वर्षमा ब्याज स्थिर अवस्थामा छ । अर्थतन्त्रमा ब्याजदर स्थायित्व काय गर्न सक्यौ भने त्यसले उद्योगी व्यापारी मात्रै नभएर निक्षेपकर्तालाई पनि सुनिश्चितता दिन्छ । बचत गर्नेलाई प्रोत्साहीत गर्छ,’ उनले भने ।

 

संक्रमण कारण भुक्तानी सन्तुलनमा चुनौती ल्याउने भट्टले बताए । उनका अनुसार संक्रमणले सबैभन्दा बढी रेमिट्यान्स, पर्यटन, वैदेशिक लगानी, वैदेशिक सन्चितबाट प्राप्त हुने आम्दानी प्रभावित हुन्छ । अहिले वैदेशिक रोजगारी अफ्ठयारो अवस्थामा रहेको भएपपिन आगामी दिनमा विश्वका विभिन्न मुलुकमा नेपाली कामदारको थप माग हुने समेत उनले बताए । अवस्था सामान्य भएपछि कामदारको माग हुन्छ । तर त्यतिबेला हामीले तालिम प्राप्त कामदारलाई उच्च पारिश्रमिकका साथ गन्तव्य मुलुकमा पठाउन सक्छौं ।

 

कोरोना संक्रमणका कारण विभिन्न मुलुकमा नेपाली कामदार विचल्लीमा परेको श्रम आप्रवास विज्ञ एवम् इक्वीडेम रिसर्च सेन्टरका दक्षिण एशिया निर्देशक रामेश्वर नेपालले बताए । श्रम सम्झौता भएका मुलुकहरुले समेत आप्रवासी कामदार र स्वदेशी कामदारमा विभेद गरेको उनले बताए । त्यसैले नेपाल सरकारले कुटनीतिक छलफल बढाउनु पर्ने बताए । ‘धेरै मुलुकले आफना कामदार फिर्ता लैजान दबाब दिई रहेका छन् । यदि यहि अवस्थामा नेपाल आफैले लगानी गरी कामदार फिर्ता ल्याउँनु भनेका मुलुकको आर्थिक भार थपिनु हो । त्यसैले सरकारले कुटनीतिक तवरबाट नै छलफल चलाउनुपर्छ,’ उनले भने ।

 

अहिलेको अवस्थामा वैदेशिक रोजगारीमा रहेका कामदार स्वास्थ्य र आर्थिक रुपमा जोखिममा रहेको आप्रवास विज्ञ नेपालले बताए । धेरै कामदार एउटै क्याम्पमा बस्नु पर्ने तथा रोजगारदाताले सुरक्षाका लागि अपनाउँनुपर्ने उपकरण प्रदान नगरेको कारण कामदारमा स्वास्थ जोखिम बढेको छ । त्यस्तै, कम्पनीहरु बन्द हुँदै जादा कामदारहरु वेरोजगार बन्दै गएको उनले बताए ।

 

इक्वीडेम रिसर्च सेन्टरले गरेको खाडीका ६ वटा मुलुकमा गरेको अध्ययनले कतिपय नेपाली कामदार बेतलवी विदामा रहन रोजगारदाताले दबाब दिएका छन् । केही कामदारले भुक्तानी पाए पनि अधिकाशं कामदारले पारिश्रमिक पाएका छैनन् । त्यसैले यतिबेला संक्रमणको अवस्था सामान्य भए पनि नेपाल फर्कन चाहने नेपाली कामदारको संख्या धेरै भएको उनले बताए । ‘यतिबेला सबै कामदारलाई फिर्ता गर्न सम्भव छैन । तर, अलपत्र र अप्ठेरोमा परेको कामदारलाई सरकारले उद्धार गर्नुपर्छ,’ उनले भने । जसरी व्यवसायीलाई अनुदानमा ऋण दिई रहेको छ । त्यसैगरी यस्ता कामदारलाई पनि निब्याजी कर्जा दिएर मुलुक भित्र नै रहने सक्ने वातावरण बनाउनु पर्ने बताए ।

अलपत्र पैदल यात्रुलाई तत्काल गन्तव्यमा पुर्‍याउन सर्वोच्चको आदेश Read Previous

अलपत्र पैदल यात्रुलाई तत्काल गन्तव्यमा पुर्‍याउन सर्वोच्चको आदेश

नेपालमा एकैदिन थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३० पुग्यो Read Next

नेपालमा एकैदिन थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३० पुग्यो