काठमाडौं । एनआइसी एशिया बैंकले सातै प्रदेश सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १५/१५ लाख गरी कुल १ करोड ५ लाख रकम प्रदान गरेको छ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व महसुस गर्दै मुलुकलाई परेको पिडामा सघाउ पुर्याउन उक्त सहयोग रकम सम्बन्धित प्रदेश सरकारका बैंक खातामा जम्मा गरेको छ।
उक्त सहयोग रकममा बैंकको तर्फबाट १० लाख र कर्मचारीको तर्फबाट ५ लाख समावेश गरी १५ लाखका दरले प्रत्येक प्रदेश सरकारलाई सहयोग गरिएको बैंकले बताएको छ।
एनआइसी एशिया बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत लकडाउनका बेला विभिन्न क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्नेहरूलाई देशका प्रादेशिक तथा स्थानीय सरकार लगायतसँगको सहकार्यमा सहयोग गरेको छ। बैंकले ४५ लाख ६८ हजार बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरू यसअघि वितरण गरिसकेको छ।
यसरी वितरण गरिएको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न समस्या भएका मजदुरी गर्नेहरूका परिवारलाई केहि भएपनि राहत मिलेको विश्वास बैंकले लिएको छ।
बैंकले देशभरका ३१९ शाखा कार्यालयहरू, ४६१ एटीएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ सेवा दिँदै आएको छ ।