विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको कारण करिब ५ दशक पछि चीनको अर्थतन्त्रमा उच्च गिरावट आएको छ । झन्डै ५० वर्षयता लगातार आर्थिक वृद्धि हासिल गरेको चीनको अर्थतन्त्रको उकालो यात्रामा पहिलो पटक ब्रेक लागेको छ । चीनको आर्थिक वृद्धिमा पहिलो पटक ऋणात्मक परिणाम आएको हो ।
चीनको राष्ट्रिय तथ्यांक विभागका अनुसार सन् २०२० को प्रथम त्रैमासिकले गिरावटको नतिजा दिएको छ। शुक्रबार सार्वजनिक तथ्यांक अनुसार सन् २०२० को पहिलो त्रैमासिकमा चीनको अर्थतन्त्रमा ६.८ प्रतिशत गिरावट आएको हो । हाल चीनको अर्थतन्त्र १४ ट्रिलियन डलरको अर्थतन्त्र रहेको छ ।
चीनको तथ्याङ्क विभागले पनि यस परिस्थितिलाई सन् १९७६ पछिको पहिलो आर्थिक संकुचनको संज्ञा दिएको छ भने सन् १९९२ पहिलोपटक खुम्चिएको हो ।

विगत २ दशकयता चीनको आर्थिक वृद्धिदर औसतमा वार्षिक नौ प्रतिशतले बढेको छ । तर, यस वर्षको सुरुवातमा भने कोरोनाको महामारीले चिनियाँ अर्थतन्त्र प्रभावित बनेको हो । चीनले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि मुलुकभरका लकडाउनको निर्णय गरेको थियो । यो निर्णयको कारण उक्त अवधिमा अधिकांश व्यवसायहरु बन्द थिए ।
कोरोना भाइरस संक्रमणका कारण अर्थ व्यवस्थामा परेको यस्तो असरसँगै चीनको करिब आधा शताब्दीको निरन्तर आर्थिक वृद्धि श्रृङ्खलाको अन्त्य भएको छ। यसअघि टियानानमेन स्क्वायर क्र्याक डाउन, सार्स माहामारी र विश्वव्यापी वित्तीय संकटमा पनि चीनको अर्थतन्त्रमा यति असर परेको थिएन जति कोरोना भाइरस संक्रमणका कारण पर्यो।

चीनले कोरोना भाइरस संक्रमणविरुद्ध उद्योग बन्द गरेर पनि सफलता हासिल गरेको छ। त्यहाँ जनवरीमै कलकारखाना ठप्प रहे। कार्यालयहरु संचालमा आएनन्। अधिकांश उत्पादन रोकिए। जसका बाबजुद फेब्रुअरीमा दशौं हजारौं चिनियाँ नागरिक कोरोना भाइरस संक्रमित भए। अवस्था नाजुक बन्यो।
बिहीबार अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चिनियाँ अर्थतन्त्र यस वर्ष नखुम्चिने तर केवल १.२ प्रतिशतको वृद्धिदर हासिल हुने अनुमान गरेको थियो । गत मार्चदेखि चीनले कारखानाको उत्पादन र व्यवसाय सञ्चालन खुला गर्दै आएको छ। तर, लकडाउनभन्दा पहिलाको अवस्थामा आउन भने अझै लामो समय लाग्ने अनुमान छ ।