काठमाडौं। विश्वव्यापी फैलिएको कोरोना भाइरसले विश्व अर्थतन्त्र नै प्रभावित हुन थालेपछि डलरको भाउ आकाशिएको छ । अमेरिकी डलरको विनियम दर अहिलेसम्मकै उच्च विन्दुमा पुगेपछि नेपाली मुद्रा हालसम्मकै कमजोर भएको छ।
कोरोना प्रभाव विश्वव्यापी रुपमा बढ्दै गएको र अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा समेत कमजोर भएपछि त्यसको प्रभाव नेपाली मुद्रामा परेको हो ।
शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको विनिमय दर १२३ रुपैयाँ २८ पैसा (बिक्रीदर) तोकेको छ । यो हालसम्मकै उच्च हो ।यस्तै शुक्रबारका लागि राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिद दर १२२ रुपैयाँ ६८ पैसा तोकेको छ ।
२०७५ साल असोज २६ गते डलर मजबुत हुँदै गएर एक डलर किन्न ११९ रुपैयाँसम्म तिर्नुपरेको थियो। त्यसपछि डलर निरन्तर कमजोर हुँदै आएको थियो। तर, पछिल्ला केही महिनायता पुनः डलर बलियो हुन पुगेको छ।
कोरोना भाइरसको संक्रमण बढेसँगै अर्थबजारमा अस्थिरता सिर्जना भएको कारण अमेरिकी डलरको भाउ बढेको विज्ञहरुले बताएका छन् । डलरको भाउ अझै बढ्ने अनुमान गरिएको छ ।