बिकेन एलपी ग्यास, भर्ने सिलिण्डर नभएपछि २५० बुलेट खाली गर्न सकिएन

काठमाडौं । एलपी ग्यास उद्योगहरुमा ग्यास नबिकेर बुलेटसमेत खाली गर्न उद्योगीले पाएका छैनन् । देशभरमा ५८ वटा ग्यास उद्योग छन् । नेपाल एलपी ग्यास उद्योग सङ्घका केन्द्रीय अध्यक्ष गोकुल भण्डारीका अनुसार ती उद्योगले मगाएका २५० बुलेट खाली गर्न सकिएको छैन ।

 

लकडाउनको समयमा ग्यासको अभाव हुन नदिन भन्दै १२ दिनसम्म आधा सिलिन्डर मात्रै भरेर बिक्री गरिएको थियो । एक सिलिन्डरमा १४.२ किलो ग्यास हुने भए पनि ७.१ किलो ग्यासमात्र बिक्री गरिएको थियो ।

 

भण्डारीको भनाइमा झण्डै १० लाख सिलिन्डर आधा मात्रै भरेर ग्राहककामा पठाइएको छ । खपतसमेत आधा घटेकाले ग्यास बिक्री हुन नसकेका हो । उनका अनुसार यसैले गर्दा ग्राहककामा सिलिन्डर खाली नहुँदा ग्यास बिक्री हुन नसकेको हो ।

 

बाबा, श्री र लुम्बीनी गरी तीन उद्योग सञ्चालन गर्दै आउनुभएका बिमल कालाखेतीका अनुसार भण्डारण खाली नभएपछि बुलेट खाली गर्न सकिएको छैन । चालकलाई उद्योगले खाना र बस्न व्यवस्था गरेर राखेका छन् ।

 

९६ घण्टाभन्दा बढी समय बुलेट राख्नुपरेमा दैनिक अतिरिक्त शुल्कसमेत तिर्नुपर्ने उनले बताए । नेपालमा सामान्य अवस्थामा दैनिक एक लाखवटा सिलिन्डर बिक्री हुने गर्दछ । लकडाउनको हल्लासँगै धेरैले सिलिन्डर भरेर राखेको र सभा सम्मेलन एवं होटल बन्द हुँदा खपत आधा घटेको कालाखेतीको भनाइ छ ।

 

नेपालका ग्यास उद्योगमा १५ करोडदेखि २०० करोड रुपैयाँसम्म लगानी भएको व्यवसायीहरु बताउँछन् । सबैभन्दा ठूलो नेपाल ग्यासका सञ्चालकसमेत रहेका भण्डारी आउँदा दिनमा ग्यास कतिको सहज हुन्छ अहिले नै भन्न नसकिने भएकाले उपभोक्ताकामा खाली सिलिन्डर भए भरेर राख्न अनुरोध गरिएको बताउँछन् ।

हार्वर्डको अनुसन्धान : कोरोनाबाट बच्न सन् २०२२ सम्म सामाजिक दूरी कायम राख्नु पर्छ Read Previous

हार्वर्डको अनुसन्धान : कोरोनाबाट बच्न सन् २०२२ सम्म सामाजिक दूरी कायम राख्नु पर्छ

कोरोना कोषमा प्राधिकरणको १ करोड सहयोग Read Next

कोरोना कोषमा प्राधिकरणको १ करोड सहयोग