दिउँसो पानी नपरे आजबाट काठमाडौंमा ट्राफिक लाइट बल्ने

काठमाडौं । सडक विभागले जडान गरेको ८ स्थानका ट्राफिक लाइट आजबाट बल्ने भएको छ । सडक विभाग अन्तर्गत सडक सुरक्षा तथा ट्राफिक शाखाका सिनियर डिभिजनल इन्जीनीयर दिप बाराहीले ८ स्थानमा रहेका ट्राफिक लाइट बल्न तयार भएको बताएका हुन् ।
उनले पानी नपरे आज मंगलबारबाटै ७ स्थानमा ट्राफिक लाइट बाल्न सुरु गरिने बताए ।

 

‘हामी, हिजो अस्तीबाटै बत्ती बाल्ने योजनामा थियौँ तर, पानीका कारण आवश्यक जनशक्ति खटाउन नसक्दा बत्ती बाल्नमा समस्या भएको हो, आज पानी परेन भने आजबाटै ट्राफिक लाइट बाल्छौँ,’ बाराहीले भने ।

 

उनले प्रत्येक ट्राफिक लाइट बाल्ने ठाउँमा ३ देखि ४ जना ट्राफिक र एक जना टेक्नीसियन खटाउनुपर्ने भएकाले मौसम हेर्नु परेको बताए ।
तिनकुनेमा भने विद्युतको तार जोड्न बाँकी भएकाले त्यसमा बत्ती बाल्न केही समय लाग्ने उनले बताए ।

 

ट्राफिक लाइट जडानका लागि विभागले प्रजील कन्स्ट्रक्सनलाई ठेक्का दिएको थियो । प्रजीलले ९७ लाख ५० हजार रुपैयाँमा उक्त टेन्डर पाएको हो ।

 

सिंहदरबार, पद्मोदयमोड, तिनकुने, कालिमाटी, बागबजार, गौशला, मित्रपार्क र पुरानो बानेश्वरमा ट्राफिक लाइट जडान तथा मर्मत गरिएको छ । तीनकुने, कालिमाटी, पुरानो बाननेश्वर चोक, गौशाला र मित्रपार्कमा नयाँ लाइटहरु जोडिनेको हो भने अन्य स्थानमा रहेका पुरानै ट्राफिक लाइट मर्मत गरि सञ्चालनमा ल्याउन लागिएको हो ।

 

ट्राफिक लाइट संचालनमा आएसँगै ट्राफिकले धुलो खाँदै गर्नुपरेको काम लाइटले गर्नेछ । हाल अधिकांश सडककका ट्राफिक लाइट अलपत्र छन् । उपत्यकाका २० भन्दा बढी स्थानका ट्राफिक बत्ति बिग्रिएका छन् ।

विद्युत खरिद विक्री दरका लागि आयोगद्धारा १४ आधार तयार (मस्यौदासहित) Read Previous

विद्युत खरिद विक्री दरका लागि आयोगद्धारा १४ आधार तयार (मस्यौदासहित)

सरकारी बैंकले माग्यो ३८२ जना कर्मचारी Read Next

सरकारी बैंकले माग्यो ३८२ जना कर्मचारी