काठमाडौं । विद्युत नियमन आयोगले विद्युत खरिद विक्री दर निर्धारणका लागि १४ आधार तोकेको छ । आयोगबाट सम्पादन गर्नुपर्ने कार्य सम्बन्धी निर्देशिकाको मस्यौदामा विद्युत खरिद सम्झौता (पीपीए) का लागि यी आधारहरु तोकेको हो ।
मस्यौदामा आयोगले विद्युत खरिद बिक्री दर निर्धारण तथा पीपीएको सहमति गरेपछि मात्र अन्तिम हस्ताक्षर हुने उल्लेख रहेको आयोगका प्रवक्ता डा. रामप्रसाद धितालले जानकारी दिए ।
मस्यौदामा परियोजनाको लागत, स्वँपुजी तथा ऋणको अनुपात, ऋणको स्रोत तथा ब्याज, ऋणको साँवा ब्याजको भुक्तानी प्रक्रिया, निर्माण वा सञ्चालनमा प्राप्त हुने अनुदानजस्ता कुरा समावेस छन् ।
त्यसैगरी ह्रासकट्टी वा अग्रमी ह्रासकट्टी, लगानी प्रतिफल, साधारण खर्च, सञ्चालन खर्च, मर्मत सम्भार खर्च, कार्य सञ्चालन खर्च, राजस्व कर तथा अन्य सेवा शुल्क, अतिरिक्त पुँजीकरण, सरकारका नीति तथा नियमहरुको आधारमा खरिद विक्री दर तय हुने उल्लेख छ ।
मस्यौदामा आवश्यक कागजपत्रसहित निवेदन आएको ६० दिनभित्र सहमति प्रदान गरिने उल्लेख छ ।