लकडाउनमा खाद्यान्न सकियो ? अनलाइन अर्डर गर्नुहोस्, यी कम्पनीले घरमै ल्याइदिन्छन्

काठमाडौं । लकडाउनका कारण अहिले देशभर जनजीवन ठप्प छ । अत्यावश्यक सेवा क्षेत्रमा काम गर्ने बाहेक अधिकांश मानिस घर भित्रै छन् । बजारका अधिकांश पसल बन्द छन् । यस्तो अवस्थामा खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तु समेत सहजै किन्न नपाउने अवस्था समेत सृजना भएको छ ।

 

यसैबीच विभिन्न कम्पनीहरुले सूचना प्रविधिको प्रयोग गर्दै खाद्यान्य, तरकारी जस्ता दैनिक उपभोग्य वस्तु अनलाइनबाट अर्डर गरी होम डेलिभरी गर्न थालेका छन् । सरकारी स्वामित्वको खाद्य व्यवस्था कम्पनी, निजी क्षेत्रका भाटभटेनी, बिगमार्ट लगायत डिमार्टमेन्ट स्टोरले लकडाउनको बेलामा पनि खाद्यन्न लयायत सामग्री होम डेलिभरी गरिरहेका छन् ।

 

सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अनलाइनबाट सामानको बिक्री शुरु गरेको छ । लकडाउनको समयमा नागरिकलाई सहज रुपमा दैनिक उपभोग्य वस्तुको होम डेलिभरी सुरु गरेको हो ।

काठमाडौं उपत्यकाको विशेषगरी चक्रपथ क्षेत्रमा त्यस्तो सुविधा प्रदान गरिनेछ । सचिव अर्यालका अनुसार चक्रपथभित्र बसोबास गर्ने उपभोक्ताले दैनिक उपभोग्य वस्तुको माग गर्न सक्नेछन् । सो योजनालाई विस्तारै काठमाडौं उपत्यका बाहिरसमेत विस्तार गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

 

कम्पनीले सामान माग गरेको बढीमा २ दिनभित्र उपलब्ध गराउने जनाएको छ । तत्काललाई २ हजार बराबरको दैनिक उपभोग्य वस्तु उपलब्ध गराइनेछ । लकडाउन अवधिभर त्यसरी माग गरिएको सामग्रीमा थप शुल्क नलिने समेत कम्पनीले जनाएको छ । त्यसका लागि उपभोक्ताको सम्पर्क नम्बरमा फोन गर्न सक्ने व्यवस्था मिलाइएको छ । कम्पनीले सानो मन्सुली, जीरा मसिनो, जापानी चामल, कर्णाली सिमी फापरलगायतका खाद्य वस्तु उपलब्ध गराउनेछ ।

 

सामान अडरका लागि कम्पनीको वेबसाइट nepalfood.com.gov.np मा गएर उपभोक्ताले आफूलाई आवश्यक वस्तु माग गर्न सक्नेछन् । त्यसका लागि नगद वा ई-पेमेन्ट गर्न सकिने छ । कम्पनीले उपभोक्तालाई ई-पेमेन्ट विधि अपनाउन आग्रह गरेको छ ।

त्यसैगरी नेपालका मुख्य शहरमा शाखा सञ्जाल भएको भाटभटेनी सुपर मार्केट्सले दैनिक ४ सयभन्दा बढी उपभोक्तालाई होम डेलिभरी सेवा प्रदान गरिरहेको भाटभटेनी नक्सालका ब्रान्च म्यानेजर सविन बेञ्जनकारले जानकारी दिए । उनका अनुसार हाल खाद्य वस्तुहरु होम डेलिभरी गर्नेे काम भइरहेको छ । लक डाउन सुरु भएदेखि भाटभटेनीले यो सुविधा सुचारु गरिरहेको छ ।

 

हाल भाटभटेनीले १२ वटा भ्यान होम डेलिभरका लागि सञ्चालन गरिरहेको छ । १८ वटा ब्रान्च मध्ये उपत्यका बाहिर रहेको धेरै जसो भाटभटेनिका शाखाहरु सरकारसँग समन्वयन गरी सञ्चालनमा रहेको उनले बताए ।

 

नेपालगंज, विराटनगर, चितवन, पोखरा लगायतका स्थानहरुमा भाटभटेनीहरु अझै पनि सुचारु रहेको उनले बताए । भाटभटेनीबाट खाद्य वस्तु घरसम्म होम डेलिभरी गर्नका लागि फेस्बुक, भाइबर, इन्स्टाग्राम लगायत सामाजिक सञ्जालबाट सम्पर्क गरी सेवा लिन सकिने उनले बताए ।
अझै पनि धेरैलाई होम डेलिभरीका विषयमा थाहा नहुँदा अझै धेरै यस सुविधाबाट बन्चित रहेको उनले बताए । ‘अझै पनि धेरैलाई थाहा छैन, हामीले दैनिक ४ सय जना जतिलाई होमडेलिभरी सेवा दिइरहेका छौं,’ बेञ्जनकारले भने ।

 

दराजले बिग मार्टसँग साझेदारी गरी आवश्यक वस्तुहरू काठमाडौं उपत्यका भित्र डेलिभर गर्न सुरु गरेको छ । दराज र बिगमार्टले लकडाउनमा ग्राहकहरुको घर ढोकामा दैनिक आवश्यक वस्तुहरू पुर्याउन थालेको हो ।

 


ग्राहकहरूले दराजले सनराइज बैंक, सनिमा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक र कुमारी बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोग गरी १० प्रतिशत अधिकतम ५ सय रुपैयाँ छूट पाउनेछन् ।

 

बिगमार्टका सामानहरू दाराज एप वा वेबसाइटको होमपेजमा सजिलै भेट्न सकिन्छ । हालै काठमाडौं उपत्यका भित्र मात्र डेलिभरी गरिरहेको छ । कम्पनीले चाँडै देशका अन्य स्थानहरुमा पनि डेलिभरी सुविधा पुर्याउने जनाएको छ ।

 

दराजको डेलिभरी राइडरहरूले उत्तम स्वच्छता अभ्यासहरु अप्नाएक कम्पनीले जनाएको छ । साथै कम्पनीले नियमित रूपमा टेम्प्रेचर जाँच पनि गरिरहेको छ ।

एनसेलले तिर्‍यो थप १४ अर्ब ३३ करोड पूँजीगत लाभकर Read Previous

एनसेलले तिर्‍यो थप १४ अर्ब ३३ करोड पूँजीगत लाभकर

२४ चार्टर्ड उडानमार्फत ११ देशले लगे आफ्ना ४ हजार नागरिक Read Next

२४ चार्टर्ड उडानमार्फत ११ देशले लगे आफ्ना ४ हजार नागरिक