काठमाडौं । बजारमा ग्यासको मागमा कमी आएपछि नेपाल आयल निगमले आज (आइतबार)देखि भरी ग्यास सिलिण्डर विक्री वितरण गर्ने बताएको छ ।
लकडाउन सुरु भएसँगै ग्यासको अधिक माग भएपछि बजारमा आधा सिलिण्डर (७.१ केजी) ग्यासको विक्री वितरण हुँदै आएको थियो । अहिले उपभोक्ताको मागमा समेत कमी आएको र भण्डारगृह समेत भरिएकाले निगमले भरी सिलिण्डर (१४.२ केजी) विक्री गर्न उद्योगीलाई निर्देशन दिएको छ ।
बजारमा ग्यासको अभाव सिर्जना भएको भन्दै निगमले यही चैत १६ गतेदेखि आधा सिलिण्डर ग्यास विक्री गर्न उद्योगलाई निर्देशन दिएको थियो । निगमको चैत २६ सञ्चालक समितिको बैठकले आजदेखि पूरै सिलिण्डर (१४.२ केजी) ग्यास विक्री वितरण खुला गर्ने निर्णय गरेको हो ।
नेपाल एलपी ग्यास उद्योग संघका अनुसार देशभरका ५९ ग्यास उद्योगमा करीब १० हजार मेट्रिक टन क्षमता रहेकामा हाल सबैको भण्डारगृह भरिएको छ ।