लकडाउनका बाबजूद ९०० मेगावाटको अरुण तेस्रोमा काम शुरु
चाणक्य पोष्ट
प्रकाशित : 4:25 pm, बुधबार, चैत २६, २०७६

सङ्खुवासभा । लकडाउनका कारण रोकिएको निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको काम शुरु भएको छ।

 

सङ्खुवासभाको मकालु र चिचिला गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाटको सो आयोजनालाई काम गर्न अनुमति दिएकाले सुरक्षा सतर्कता र नयाँ कामदार नथप्ने समझदारीपछि काम थालिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए।

 

कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनले काम प्रभावित भएपछि कामदार नथप्ने र निर्माण स्थलमा भएकालाई परिचालन गरी काम थालिएको कम्पनीका कार्यकारी निर्देशक अरुन धिमानले बताए।

 

अधिकांश मजदूर बाहिरी जिल्ला र भारत भएका कारण घर फर्किन सम्भव नभएको बताइएको छ। भारतीय निर्माण कम्पनी सतलजले निर्माणको काम गरिरहेको छ।

 

आयोजना स्थलमा रहेका करिब १ हजार ५ सय कामदारले काम थालेका हुन्। यस अघि आयोजनामा ३ हजार कामदार रहेपनि कोरोनाको त्रासले धेरैजसो घर गएको निर्माण कम्पनीले जनाएको छ। अधिकांश कामदार भारतीय छन्।

 

कामदारको स्वास्थ्य सुरक्षालाई प्राथामिकता दिदै काम शुरु गरिएको जनाइएको छ। विद्युत गृह र बाँधलगायतका विभिन्न सुरुङमा विस्फोटको काम थालिएको जनाइएको छ। लकडाउनले आयोजनामा चाहिने सिमेन्ट, डण्डी लगायतका निर्माण सामग्रीको अभाव हुने देखिएको छ।रासस