१९ चार्टर्ड उडानमार्फत विभिन्न देशले लगे आफ्ना ३ हजार नागरिक

काठमाडौं । विश्वलाई सम्पर्क सञ्जालका रुपमा जोड्ने मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झण्डै १ महिनायता बन्द छ ।

 

मुलुक लकडाउनमा रहेको तथा अन्तर्राष्ट्रिय हवाई उडानसमेत प्रतिबन्ध गरिएको अवस्थामा पनि अन्तर्राष्ट्रिय विमानस्थमा दैनिकजसो उडान भए ।

 

लकडाउनको अवधिमा करिब डेढ दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय उडान भएका छन् । चैत १० देखि आज २६ गतेसम्म विभिन्न अन्तर्राष्ट्रिय वायु सेवा प्रदायक कम्पनीले १९ वटा अन्तर्राष्ट्रिय उडान गरेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यी सबै उडान चार्टर्ड र केही कार्गो उडान हुन् ।

 

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले लकडाउनको अवधिमा १९ वटा अन्तर्राष्ट्रिय उडानबाट ३ हजारभन्दा बढी विदेशी स्वदेश फर्किएको राससलाई जानकारी दिए।

 

यी उडानमध्ये सबैभन्दा बढी कतार एयरवेजको ९, नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को ४ तथा कोरियन, मलेसिया, मालिन्दो, इत्तिहाद, चेकरिपब्लिकन र टिटान एयरवेजको समान एक–एक उडान भएका छन् । यसबीचमा विशेषगरी युरोपेली मुलुक जर्मनी, फ्रान्स, न्यूजिल्याण्ड लगायतका तथा मलेसिया, चेकरिपब्लिकन, अमेरिका र बेलायतका नागरिक घर फर्किएका हुन् ।

 

नेपाल पर्यटन बोर्डले सरोकारवाला निकायसँगको समन्वयमा उनीहरुलाई नेपालका विभिन्न गन्तव्यबाट उद्धार गरी काठमाडौँ ल्याउन सहजीकरण गरेको थियो । सम्बन्धित मुलुकका नेपालस्थित दूतावासले नेपालको परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आफ्ना नागरिकलाई चार्टर्ड उडान गरी स्वदेश लगेका हुन् ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वटा वायु सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ पनि लकडाउन शुरु भएदेखि नै सबै उडान बन्द छ । करिब १० दिन दैनिकजसो आन्तरिकमा उद्धार र कार्गो उडान भए । आन्तरिकमा १० हेलिकप्टर कम्पनीसहित १९ वायु सेवा प्रदायकले उडान गर्छन् ।

 

 

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएसँगै नेपालमा कोभिडको सङ्क्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ । पछिल्लो पटक वैशाख ३ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको थियो ।

 

लकडाउनको अवस्थामा सरकारले चैत ९ गतेदेखि नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्ध लगाएको थियो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मङ्गलबार भएको वैठकले आगामी वैशाख १५ गतेसम्म अन्तर्राष्ट्रिय हवाई प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको थियो । अघिल्लो चैत १६ गतेको समिति बैठकले वैशाख ३ सम्म उडान बन्द गरेको थियो ।

 

बेलायत र जर्मनका ५४० भन्दा बढी नागरिक फर्किए

 

विभिन्न मुलुकले नेपालमा रोकिएका आफ्ना नागरिकलाई चार्टर्ड उडानमार्फत फिर्ता लगिरहेका छन् । यसैबीच बेलायत र जर्मनले आज ५४० भन्दा बढी नागरिक फर्ता लगेका छन् ।

 

जर्मनीले कतार एयरवेजको जहाज चार्टर्ड गरी २५८ नागरिक फिर्ता लगेको छ भने आजैँ बेलायतको टिटान एयरवेज मार्फत २५२ भन्दा बढी नागरिकलाई स्वदेश फर्काएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए ।

 

 

बेलायतले एक दुई दिनभित्रै थप नागरिकलाई स्वदेश लैजाने तयारी गरेको बताइएको छ । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार मार्च २१ सम्म करिब २५ हजार विदेशी नागरिक नेपाल आएका छन् । यीमध्ये ३ हजारभन्दा बढी स्वदेश फर्केका छन् ।

 

नेपालमा कूटनीतिक मिसनका झण्डै ५ हजार विदेशी नागरिक रहेको छन् । अन्य विदेशी नागरिकको अवस्थाबारे अध्ययन भइरहेको बोर्डले जनाएको छ ।

एनएमबी बैंकद्वारा १०० थान पीपीई प्रदान Read Previous

एनएमबी बैंकद्वारा १०० थान पीपीई प्रदान

लकडाउनका बाबजूद ९०० मेगावाटको अरुण तेस्रोमा काम शुरु Read Next

लकडाउनका बाबजूद ९०० मेगावाटको अरुण तेस्रोमा काम शुरु