काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले निष्काशन गरेको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँड भएको छ।
बिक्री प्रबन्धक आरबीबी मर्चेन्टका अनुसार बुधबार बिहान भएको बाँडफाँमा ३ लाख ९० हजार ६३८ आवेदकले कम्पनीको सेयर पाएका छन्। आइपीओमा कुल ३ लाख ९१ हजार ६२६ जनाले आवेदन दिएका थिए । जसमा ९८८ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ। सदर ३ लाख ९० हजार ६३८ आवेदकलाई सेयर बाँडफाँड गरिएको हो।
विक्री प्रबन्धकका अनुसार आवेदकले १० कित्तादेखि ४० कित्तासम्म आवेदन गर्ने सबैले मागेजति सेयर पाएका छन्।कम्पनीका अनुसार २७ हजार ७४८ जनाले १० कित्ता, १५ हजार ५९० जनाले २० कित्ता, १२ हजार ७२३ जनाले ३० कित्ता र २० हजार ९२९ जनाले ४० कित्ता सेयर पाएका छन् ।
यस्तै ५० देखि १० हजार कित्तासम्म माग गर्ने ३ लाख १३ हजार ६४८ जनाले पनि ४० कित्ता सेयर पाएका छन् । गोलाप्रथा मार्फत ७७ हजार २४५ जनाले थप १० कित्ता गरी अधिकतम ५० कित्ता सेयर पाएका छन्।
कम्पनीले चैत ४ गते प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा १ करोड ६० लाख कित्ता आइपीओ जारी गरेको थियो ।हाल कम्पनीको चुक्ता पूँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने आइपीओ विक्रीपछि चुक्ता पूँजी १० अर्ब रुपैयाँ पगेको छ ।
