काठमाडौं । काठमाडौं निजगढ द्रुतमार्ग आयोजना निर्माण चालू आर्थिक वर्षमा विनियोजित रकम खर्चै हुन सकेको छैन । फागुन मसान्तसम्ममा आयोजना निर्माणमा ९.१० प्रतिशत मात्र खर्च भएको छ ।
चैत ११ गतेदेखि विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को कारण नेपाल लकडाउन गरिएको छ । लक डाउनका कारण तराई मधेश द्रुतमार्ग निर्माण आयोजनाको लक्षित वार्षिक कार्यक्रम प्रभावित हुने र यो वर्ष खर्च गर्नै नसकिने अवस्था आउन सक्ने देखिएको छ ।
निर्माणाधीन ठेक्का प्याकेजहरुमा अधिकांश साइटहरु बन्द भएको भन्दै सेनाले वार्षिक लक्षित कार्यक्रम प्रभावित हुने जनाएको हो । त्यसो भएता पनि द्रुतमार्ग आयोजनाका केही साइटहरु आशिंक रुपमा चालू रहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।
हालसम्म बजेट खर्च
हालसम्म द्रुतमार्ग आयोजनाको कुल बजेट खर्च ९.१० प्रतिशत रहेको छ । कुल वजेट १ खर्व ७५ अर्व रहेकोमा ९.१० प्रतिशत मात्र खर्च भएको हो ।
चालू आर्थिक वर्षमा सेनाले पुल र टनेल बाहेक ३२ किलोमिटर सडक निर्माणको काम पूरा गरेको छ ।
तराई मधेष द्रुतमार्ग सडकखण्डको कुल लम्बाई ७२.५ किलोमिटर मध्ये सुरुङ मार्ग ६.४१ किलोमिटर रहेको छ । सो खण्डमा १०.५९ किलोमिटर पुलहरु निर्माण हुने छ भने ढुङ्गा माटो कटफिल गर्ने ५५.५ किलोमिटर रहेको छ ।
यस सडक आयोजना अन्तर्गत एनसीबी प्याकेज ३० वटा र एनए प्याकेज ५ वटा रहेको छ । जस मध्ये हालसम्म कटिङको काम ७१ प्रतिशत पूरा भएको छ भने फिलिङको काम ४६ प्रतिशत पूरा भएको छ ।
यस्तै मेसोनरी वालतर्फ ४१ प्रतिशत काम सम्पन्न भएको छ । आरसीसी वाल लगाउने काम ९ प्रतिशत पूरा भएको सेनाले जनाएको छ ।
सेनाका प्रवक्ता पाण्डेका अनुसार हालसम्म रुख कटानको काम ९३ प्रतिशत पूरा भइसकेको छ । जग्गा प्राप्तीको काम ९७ प्रतिशत पूरा भएको उनले बताए ।
बाँकी कामहरुः
द्रुतमार्ग आयोजनाको ११.४ किलोमिटर निर्माण कार्य अझै बाँकी रहेको छ । जसमा सुरुङ मार्गमा पर्ने १.५ किलोमिटर एक्सप्रेस वे टनेल प्याकेजिङको समयमा निर्माण कार्य सुरु हुने सेनाले जनाएको छ ।
बाँकी रहेको २.१ किलोमिटर रिभर ट्रेनिङ कार्यको डिजाइन भइसकेको जनाइएको छ ।
यस्तै सेनाले छनोट गर्न लागेको राष्ट्रिय परामर्शदाताको छनोट अन्तीम चरणमा पुगेको सेनाले जनाएको छ ।
ब्रिज तथा सुरुङ मार्ग निर्माण
सुरुङ मार्गको ‘जियोटेक्नीकल’ तथा ‘जियोसाइकल इन्भेष्टिगेसन’ अध्ययन कार्यको लागि परामर्शदाता छनोट कार्य भइरहेको छ । सो निर्माणको लागि सक्षम अन्तर्राष्ट्रिय निर्माण व्यवसायी छनोट गर्न ‘प्रिक्वालिफाइड’ आवहान गरिसकिएको सेनाले जनाएको छ । साथै पुल निर्माणका लागि आवश्यक ‘जियोटेक्नीकल इन्भेष्टमेन्ट’ तथा अध्ययन कार्यको लागि आवश्यक परामर्शदाता छनोट गर्न इओआई आह्वान गरिएको छ ।
आगामी कार्ययोजना
आयोजनाको निर्माण द्रुतगतिमा समय सीमामै सम्पन्न गर्ने लक्ष्य अनुरुप ‘होलस्टिक प्लान’ तयार भईसकेको सेनाले जनाएको छ । साथै अन्तर्राष्ट्रिय परामर्शदाता छनोट पश्चात् सुरुङ मार्ग, पुल, ‘स्लोप प्रोटेक्सन’ र सडक निर्माण कार्यको ठेक्का व्यवस्थापन गरी कार्य गर्ने योजना रहेको प्रवक्ता पाण्डेले बताए ।
यस आयोजनाको कार्यक्षेत्रलाई ११ वटा विभिन्न क्लस्टरमा विभाजन गरी आर्थिक वर्ष २०८०/८१ सम्म कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।