लकडाउनको बाबजूद मध्यभोटेकोशी आयोजनाको काम शुरु

काठमाडौं । राष्ट्रिय प्राथमिकतामा परेको १०२ मेगावाट क्षमताको सिन्धुपाल्चोकमा निर्माणाधीन मध्यभोटेकोशी आयोजनाको काम लकडाउनको अवस्थामा समेत सञ्चालन हुँदै आए पनि निर्माण सामग्रीको अभावमा बन्द हुने स्थितिमा पुगेको छ ।

 

नेपाली र चिनियाँसहित दैनिक ७० कामदारबाट काम हुँदै आएकामा मौज्दात रहेको सीमित सिमेन्ट र अभाव रहेको केमिकल तत्काल आपूर्ति हुन नसके चाँडै नै काम बन्द हुने अवस्थामा पुगेको आयोजना प्रमुख डा. सुनिलकुमार लामाले बताए ।

 

आयोजनालाई कूल छ हजार ३०० मेट्रिक टन मात्र मौज्दात रहेकाले त्यसले धेरै दिन धान्न नसक्ने देखिन्छ । सम्झौताअनुसार शुरुदेखि नै चिनियाँ कम्पनीबाट उत्पादित होङ्सी सिमेन्ट प्रयोग हुँदै आएको छ ।

 

हाल उक्त सिमेन्टको कारखानासमेत बन्द भएकाले अन्य सिमेन्ट प्रयोग गर्न नमिल्ने हुँदा नेपाल सरकारलाई समन्वय गरी चाँडै नै आपूर्तिको व्यवस्था मिलाइदिन आयोजना प्रमुख डा. लामाले आग्रह गरेका छन् ।

हाल आयोजनाको चाकुस्थित बाँधको काम एक महिनाभित्र सम्पन्न हुने गरी तीव्रगतिमा भइरहेको छ । बाँधको काम चाँडै सम्पन्न गर्न सकेको खण्डमा नदीमा बाढी आए पनि क्षति नपुग्ने उनको भनाइ छ ।

 

आयोजनाको कूल सात हजार ११८ मिटर लामो सुरुङमध्ये छ हजार ६१८ मिटर सम्पन्न भई ९३ प्रतिशत काम पूरा भएको छ । त्यस्तै छ मिटर उचाइ र ३७ मिटर लम्बाइको बाँधमध्ये ७० प्रतिशत र विद्युत्गृहको २५ प्रतिशत काम सम्पन्न भएको छ ।

 

कूल १४ अर्ब ५० करोड लगानीमा निर्माण भइरहेको आयोजना आगामी २०२० को डिसेम्बर अर्थात् नौ महिनाभित्र सम्पन्न गर्नुपर्ने पछिल्लो समयसीमा निर्धारण भएको छ । आयोजनाको सिभिलकार्य चीनको वाङ्सी हाइड्रो इलेक्ट्रिक कन्स्ट्रक्सन ब्यूरो र इलेक्ट्रिकको काम अष्ट्रिया एण्डिज हाइड्रोको भारतीय कम्पनीद्वारा निर्माण भइरहेको छ ।

 

चिलिमे कम्पनीको सह प्रवद्र्धनमा निर्माण भइरहेको उक्त आयोजना सन् २०१३ डिसेम्बरमा शुरु भई २०१६ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य रहेको थियो । तर विसं २०७२ को विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी र पटक–पटक आएको भोटेकोशी बाढीका कारण निर्धारित समयभन्दा चार वर्षपछि धकेलिएको थियो ।

तराई मधेश द्रुतमार्ग निर्माणमा खर्चै हुन सकेन, कोरोना असरले अवस्था झन् नाजुक Read Previous

तराई मधेश द्रुतमार्ग निर्माणमा खर्चै हुन सकेन, कोरोना असरले अवस्था झन् नाजुक

सरकारी जागिरेदेखि व्यापारीसम्म राहतको लाइनमा Read Next

सरकारी जागिरेदेखि व्यापारीसम्म राहतको लाइनमा