बाहिरी चक्रपथः कहाँ अड्कियो निर्माण प्रक्रिया

काठमाडौं । बहु-चर्चित बाहिरी चक्रपथ विस्तारको काम कुन बिन्दुबाट सुरु हुने भन्ने अझै टुङ्गो लागेको छैन । उपत्यकालाई व्यवस्थित बनाउने भन्दै २० वर्ष अगाडि निर्माण सुरु हुने जनाइएकाे उक्त याेजना अझै अगाडि बढ्न नसकेकाे हाे । सडक निर्माणकाे काम सुरु हुन नसकेपनि उपत्यकाका कुना-कुनामा जग्गाको मूल्य बढाउने काम भने भएकाे छ ।

 

सरकारले लगानी सम्मेलनमा अन्तर्राष्ट्रिय लगानीकर्तालाई उक्त आयोजना निर्माण प्रस्ताव गरेको थियो । बाहिरी चक्रपथ निर्माणमा चासो देखाउँदै ४ वटा कम्पनीहरुले लगानी प्रस्ताव गरेका छन् । यद्यपी कुन-कुन लगानीकर्ताले लगानी गर्ने चासो देखाएर प्रस्ताव गरेका हुन् भन्ने विषय लगानी बोर्डले सार्वजनिक गरेको छैन ।

 

कुल ७२ किलोमिटर बाहिरी चक्रपथको निमार्ण लागत १ खर्ब ८३ अर्ब १ करोड रुपैयाँ अनुमान गरिएको छ । प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण गर्ने तयारीसँगै बाहिरी चक्रपथ निर्माणको काम अझै पछि धकेलिने भएको हो ।

 

अरनिको, त्रिभुवन राजपथ तथा पृथ्वी राजमार्गसँग पनि जोडिने यो सडकखन्ड ८ लेनसहित साइकल लेन, हरियाली बेल्ट, फूटपाथ तथा आपाङ्गता मैत्री पेटीको समेत ब्यबस्था गरिने छ ।

 

उपत्यका विकास प्राधिकरण निर्माण गर्ने उक्त आयोजना निर्माणको लगानी जुटाउने काम लगानी बोर्डले गर्ने र लगानी गर्ने कम्पनीको टुङ्गो नलागेकाले तत्काल काम अगाडि नबढ्ने भएको हो ।

 

यसअघि बाहिरी चक्रपथलाई १० खन्डमा निर्माण गर्ने तयारी सरकारले गरेको थियाे । जसमध्य अधिकांश खन्डको डीपीआर तयार भएकोमा अब यसकाे डीपीआर परिवर्तन गर्ने र जग्गा अधिग्रण गर्ने विषयमा सहरी विकास मन्त्रालयले अड्डी कसेकाे छ भने, अर्थ मन्त्रालयले जग्गा अधिग्रण हाेइन पहिले भनेजस्तै ल्यान्डपुलिङ गर्नुपर्ने भन्दै त्यसमा स्वीकृत दिएकाे छैन ।

 

यस्तो हुनेछ बाहिरी चक्रपथ
उपत्यका विकास प्राधिकरणले बनाउन लागेको बाहिरी चक्रपथले उपत्यकाका तीनवटै जिल्लालाई जोड्नेछ । यसकासाथै, अरनिको, त्रिभुवन राजपथ तथा पृथ्वी राजमार्गसँग पनि जोडिने यो सडकखन्ड ८ लेनसहित साइकल लेन, हरियाली बेल्ट, फूटपाथ तथा आपाङ्गता मैत्री पेटीको समेत ब्यबस्था गरिने छ ।

 

सडकका दुवै भागमा साइकल ट्र्याक तथा ग्रीन बेल्टसहितको फूटपाथ र ५० मिटरको बाटो बन्नेछ । बाटोको दुवै भागमा २५०/२५० मिटर जग्गा विकास योजना बन्ने छ ।

 

बाहिरी चक्रपथले सहरी तथा ग्रामीण क्षेत्रलाई प्रत्यक्ष जोड्नेछ । भने बहु-प्रतिक्षित काठमाडौं तराई द्रूतमार्ग पनि यही चक्रपथमा जोडिनेछ ।

 

विकास समितिको चासो

बाहिरी चक्रपथ आयोजनामा अपुग हुने आर्थिक स्रोतको सुनिश्चतता गराउन अर्थ मन्त्रालयलाई संसदको विकास समितिले निर्देशन दिए थियो । जग्गा एकीकरण मार्फत योजना अघि बढाउँदा अपुग हुने आर्थिक स्रोतको सुनिश्चितताका लागि अर्थ मन्त्रालयलाई विकास समितिले निर्देशन दिएको हो ।

 

जग्गा एकीकरणको मोडल तयारगरी आगामी आर्थिक वर्ष २०७६/७७ देखि काम अघि बढाउन समेत शहरी विकास मन्त्रालयलाई निर्देशन दिइएको थियो ।

 

यसअघिकाे डीपीआर

प्राधिकरणकाअनुसार काठमाडौं जिल्लाभित्रका ६.६ किलोमिटर लम्बाईमा रहेको चोभार-सतुङ्गल सडकखन्डको डीपीआर भैसकेको छ । त्यस्तै, १०.९२ किलोमिटर लम्बाई भएको सतुङ्गल-पैयाँटर सडकखन्ड, ६ किलोमिटर लम्बाईको पैयाँटार खड्का भद्रकाली सडकखन्ड, ३.९६ किलोमिटरको सनडोल-नयाँपाटी-थलीडाँछी सडकखन्डको डीपीआर तयार भएको छ । तर, ६.५ किलोमिटर लम्बाई भएको खड्का-भद्रकाली-सनडोल खन्डको भने डीपीआर हुन बाँकी रहेको छ ।

 

त्यस्तै, भक्तपुर जिल्लाभित्रको कुल ३ सडकखन्डमध्ये २ वटाको डीपीआर भैसकेको छ । प्राधिकरणकाअनुसार ९.५१२ किलोमिटरको थली-डाँछी-भातेढिकुरो सडकखन्ड, अरनिको राजमार्गमा पर्ने ३.५ किलोमिटरको दधिकोट-सिरुटार सडकखन्डको डीपीआर तयार भएको छ । तर, ५.६ किलोमिटर लम्बाईको भातेढिकुरो-अरनिको राजमार्ग-नयाँठिमी खन्डको डीपीआर बन्न बाँकी रहेको छ ।

 

ललितपुर जिल्लाभित्रमा पर्ने सबै सडकखन्डको डीपीआर भैसकेको छ । कुल ५ किलोमिटर लम्बाईको लुभु-हरिसिद्धि खन्ड र ८.९९ किलोमिटरको हरिसिद्धि-खोकना खन्डको डीपीआर तयार भएको हो ।

पञ्चकन्या समूहले ल्यायो ‘डेकिङ्ग’ सिट, घर छाउन सस्तो र सहज हुने Read Previous

पञ्चकन्या समूहले ल्यायो ‘डेकिङ्ग’ सिट, घर छाउन सस्तो र सहज हुने

सनराइज बैंककाे सीइओमा जनकराज शर्मा Read Next

सनराइज बैंककाे सीइओमा जनकराज शर्मा