कोरोना भाइरसको महामारीको समयमा आफ्नो नामको कारणले अत्याधिक चर्चामा रहेको एक ब्राण्डले आफ्नो उत्पादन बन्द गरेको छ । कोरोना बियर अहिलको लागि अत्यावश्यक वस्तु नभएको भन्दै यसको उत्पादन हाललाई बन्द गरिएको हो ।
मेक्सिकन सरकारले यो व्यवसायलाई अत्यावश्यक उत्पादनको सूचीमा नराखेका कारण यो बियर उत्पादन गर्ने कम्पनी ग्रुपो मोडेलोले ट्वीटर मार्फत आफ्नो उत्पादन हाललाई बन्द गरिएको जानकारी गराएको हो ।
मंगलबार मेक्सिकन सरकारले स्वास्थ्य संकटकाल घोषणा गरेको थियो । घोषणा अन्तर्गत सरकारले आगामी अप्रिल ३० सम्मका लागि अत्यावश्यक बाहेक अन्य गतिविधि बन्द गर्न निर्देशन दिएको थियो । मेक्सिकोमा हाल १६ सय भन्दा बढी कोरोना संक्रमित रहेका छन् भने ६० जनाको मृत्यु भइसकेको छ ।
ग्रुपो मोडेलोले आफ्नो सूचनामा बियर उत्पादनलाई पनि अत्यावश्यक वस्तुको रुपमा लिइनु पर्ने भनेर बहस पनि गरेको छ । उसको बुझाइमा बियर उत्पादन कृषि व्यवसायको छाता व्यवसाय हो ।
कम्पनीका अनुसार १५ हजार भन्दा बढी परिवार वर्षेनी कम्पनीको लागि आवश्यक पर्ने जौ उत्पादन गरेर गुजारा गरिरहेका छन् । उनीहरुको ४० प्रतिशत भन्दा बढी आम्दानी बियरको विक्री बाटै आउने कम्पनीले दाबी गरेको छ ।
ग्रुप मोडेलोले सुरक्षा र स्वास्थ्यका उपायहरु आफूले अबलम्वन गरिरहेको जनाएको छ । यदि सरकारले यो निर्णयमा पुनर्विचार गरेमा आफ्ना ७५ प्रतिशत कर्मचारीहरु घरबाटै काम गरेर पनि बियरको वितरण प्रभावकारी ढंगले गर्न सक्ने कम्पनीले बताएको छ ।
कम्पनीले बियरबाट उत्पादित ३ लाख ब्याक्टेरिया प्रतिरोधी स्यानिटाइजर वितरण गर्ने पनि जनाएको छ । साथै, कम्पनीले आगामी दिनमा राहतका अन्य प्याकेजहरु पनि घोषणा गर्ने उल्लेख गरेको छ ।
महामारीको शुरुवाती समयमा धेरै मानिसहरु कोरोना भाइरस यो बियरसँग सम्बन्धित भएको भनेर झुक्किएका थिए । मानिसहरुले गुगलमा ‘कोरोना बियर भाइरस’ वा ‘बियर भाइरस’ भनेर सर्च गरेका थिए ।
फेब्रुअरी महिनामा गरिएको एक सर्भेका अनुसार ३८ प्रतिशत अमेरिकीहरुले कुनै पनि हालतमा आफूहरु कोरोना बियर नकिन्ने बताएका थिए । तर, कोरोना सधैं पिइरहेका मानिसहरु मध्ये चाहिँ ४ प्रतिशतले मात्र त्यस्तो जवाफ दिएका थिए । १४ प्रतिशत कोरोनाका ग्राहकले आफूहरु सार्वजनिक ठाउँमा कोरोना नपिउने बताएका थिए भने १६ प्रतिशत कोरोना भाइरस र बियरका सम्बन्धका बारेमा अल्मलिएका थिए ।
एजेन्सी