काठमाडौं । दोस्रो पटक कोरोना भाइरस परीक्षण र उपचार आवश्यक स्वास्थ्य उपकरण तथा औषधि लिन चीन गएको नेपाल वायुसेवा निगम (नेपाल एयरलाएन्स) काठमाडौं आइपुगेको छ ।
नेपाल वायुसेवा निगमको वाइडबडी विमानले चीनको ग्वाङजाउबाट कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री शुक्रबार बिहान २ः५७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको निगमका अपरेशन विभाग प्रमुख दीपु जुहार्चनले जानकारी दिए ।
आज ल्याइएका स्वास्थ्य सामग्री चौधरी फाउन्डेशनसहित अन्य निजी स्वास्थ्य संस्थाको रहेको बताइएको छ । ग्वाङ्जाओबाट के-कति सामान ल्याइएको भन्ने यकिन जानकारी आएको छैन । मेडिकल सामग्री लिन निगमको कार्गो उडानको वाइडबडी जहाज बिहीबार बिहान ग्वाङ्जाओ उडेको थियो ।
यसअघि चैत १६ गते निगमकै वाइडबडी जहाजमार्फत ग्वाङ्जाओबाट करिब १३ हजार स्वास्थ्य सामग्री ल्याइएको छ ।
यसअघि सरकारले चीनबाट ओम्नी कम्पनीमार्फत १ अर्ब २४ करोड बराबरको स्वास्थ्य सामग्री ल्याएको थियो । स्वास्थ्य सामग्री खरिदमा व्यापक अनियमितता भएको भन्दै चौतर्फी आलोचना भएपछि सरकारले ओम्नीसँगको ठेक्का सम्झौता नै रद्द समेत गरेको छ ।