काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा मन्त्रीहरुको १ महिनाको तलब जम्मा हुने भएको छ ।
मन्त्रीपरिषद्ले उक्त कोषमा मन्त्रीहरुकोे १ महिना बराबरको तलब जम्मा गर्ने निर्णय गरेको सरकारको प्रवक्ता तथा अर्थ, सूचना तथा प्रविधिमन्त्री युवराज खतिवडाले बताए । उनका अनुसार मन्त्रीहरुको चैत्र महिनाको रकम स्वतः कोषमा जम्मा हुने छ ।उनले सबै सार्वजनिक तथा निजी क्षेत्रका संस्थाहरुलाई कोषमा रकम सहयोगका लागि अनुरोध समेत गरेका छन् ।
अर्थ मन्त्रालय अन्तर्गतका निकायबाट प्राप्त सहयोगमा हालसम्म १ अर्ब २४ करोड रुपैयाँ कोषमा जम्मा भएको छ । नेपाल आयल निगम ५० करोड रुपैयाँ कोषलाई योगदान दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरण १५ करोड रुपैयाँ र नेपाल टेलिकम १२ करोड रुपैयाँ कोषलाई दिएका छन् ।
बीमा समिति ५ करोड, नेपाल धितोपत्र बोर्ड ३ करोड, कर्जा तथा निक्षेप सुरक्षण कोष ३ करोड, नेपाल स्टक एक्स्चेन्ज ३ करोड ५१ लाख, सीडीएससी ३५ लाख, राष्ट्रिय बीमा कम्पनी लिमिटेड २ करोड, राष्ट्रिय बीमा संस्थान १ करोड, नेपाल पुनर्बीमा कम्पनी १ करोड ११ लाख, नागरिक लगानी कोषले २ करोड र कर्मचारी सञ्चय कोषले ५ करोड रुपैयाँ दिएको छ ।
यस्तै विभिन्न व्यक्ति, सामाजिक संघसंस्था, कर्पोरेट हाउस, बैंक तथा वित्तीय संस्था लगायतले पनि कोषमा रकम जम्मा गर्दै आएका छन् ।