उड्डयन इतिहासमै लामो गन्तव्यको उडान भर्दै नेपाल एयरलाइन्स

काठमाडौं । चन्द्र र सूर्य अङ्कित राष्ट्रिय झण्डा फहराउदैँ नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज अस्ट्रेलिया उड्दैछ ।

 

राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको वाइड बडी एयरबस ३३० आज साँझ ५ः३० बजे मलेसियाको क्वालालम्पुर हुँदै अस्ट्रेलियाको शहर ब्रिश्वेन पुग्ने निगमले जनाएको छ ।

 

निगमको उड्डयन इतिहासमै पहिलो पटक वाइड बडी जहाजले लामो गन्तव्यको उडान भर्न लागेको हो । मलेसिया ट्रान्जिट हुँदै अस्ट्रेलियासम्मको यो उडान करिब १३ घण्टाको हुनेछ ।

 

वाइड बडी जहाजले अस्ट्रेलिया र न्यूजील्याण्डका नागरिकको उद्धारका लागि उडान भर्न लागेको निगमका अपरेशन विभाग प्रमुख दिपु जहार्चनले बताए। उनले छ जना चालक दलसहित २४ जनाको सञ्चालन टोली र २५० यात्रुसहितको यस अद्वितीय उडान फेरी क्वालालम्पुर हुँदै बिहीबार राति नेपालमा अवतरण गर्ने तालीका रहेको जानकारी दिए ।

 

वाइड बडी जहाज बिहीबार राति १०ः५० बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । निगमले बिहीबार चीनको ग्वाङ्जाओ गन्तव्यमा कार्गो उडान गर्दैछ ।चीनबाट कोभिड-१९ का लागि आवश्यक औषधि र उपकरण ल्याउन व्यवसायीले निगमको वाइड बडी जहाज चार्टर्ड गरेको बताइएको छ ।

 

यसअघि निगमको वाइड बडी ए ३३० जहाजले चैत १६ गते चीनको ग्वाङ्जाओबाट लगभग १३ हजार केजी स्वास्थ्य सामग्री एयरलिफ्ट गरी काठमाडौँ ल्याएको थियो । हाल दुई वाइड बडी ए-३३० र दुई थान न्यारोबडी ए-३२० सिरिजको जहाजबाट निगमले अन्तरराष्ट्रिय उडान गरिरहेको छ ।

अरुण तेस्रो परियोजनाद्वारा जिल्ला अस्पताललाई १ करोड सहयोग Read Previous

अरुण तेस्रो परियोजनाद्वारा जिल्ला अस्पताललाई १ करोड सहयोग

राष्ट्रवादको खुट्टामा उभिएको ओलीको राजनीति नै भष्ट्राचारको अविभाज्य अंग बन्दै Read Next

राष्ट्रवादको खुट्टामा उभिएको ओलीको राजनीति नै भष्ट्राचारको अविभाज्य अंग बन्दै