विश्वभर कोरोनाका कारण जनजीवन ठप्प भएपछि कच्चा तेलको मागमा भारी गिरावट आएको छ । मागमा गिरावट आएसँगै तेलको भाउमा पनि २००२ पछिकै ठूलो गिरावट आएको छ ।
अन्तराष्ट्रिय बजारमा सोमबार कच्चा तेलको मूल्य प्रति ब्यारल (१५८.९८ लिटर) २२.५८ डलर मा झरेको हो । यता अमेरिकाको वेस्ट टेक्सस इन्टरमेडिएटमा भने प्रति ब्यारेल २० डलरसम्म पुगिसकेको छ जुन १८ वर्ष यताकै सस्तो हो ।
कोरोना संक्रमणका कारण पछिल्ला केही महिनाहरुमा तेलको मूल्य आधा भन्दा धेरैले कम भएको छ । यस्तोमा विभिन्न ठुला कक्पनीले आपूर्तिमा कटौति र उत्पादन बन्द गर्ने भएका हुन् ।
यसका साथै एक महिनाअघि साउदी अरब र रुसबीच तेलको मूल्य सम्बन्धी सुरु भएको नयाँ युद्धले पनि तेल बजार ठूलो स्तरमा प्रभावित भएको थियो ।साउदीले रुसलाई ‘ओपेक’ का अन्य सदस्य जसरी नै उत्पादन कटौतिलाई समर्थन गराउन नसकेपछि यस्तो भएको हो ।
कोरोनाविरुद्ध गरिएको लकडाउनका कारण विमानको उडानलगायत सबै किसिमका सवारी साधन बन्द भएपछि रिफाइनरीहरुले एकदम सिमित कच्चा तेल प्रोसेसिङ गरिरहेका छन् ।यसरी आम्दानीका लागि तेल उत्पादनमा भारी रुपमा निर्भर देश, जस्तै अल्जेरिया, नाइजेरिया र लिबिया सबैभन्दा नराम्ररी प्रभावित भएका छन् ।