कालिमाटी बजारमा तरकारीको आपूर्ति ह्वात्तै घट्यो, आएको तरकारी पनि बजारमै थन्कियो

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा तरकारी आपूर्ति कम हुन थालेको छ । सरकारले चैत्र ११ गतेदेखि देशभर लक डाउन घोषणा गरेको थियो । त्यस दिनदेखि यता कालिमाटी बजारमा तरकारी आपूर्ति घट्दै गएको छ ।

 

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठका अनुसार पछिल्लो समय कालिमाटी बजारमा आपूर्ति हुने तरकारीमा कमी आइरहेको छ ।

 

विगतमा दैनिक ९ सय देखि ११ सय मेट्रिकटनसम्म तरकारी आयात हुने गरेको थियो भने ११ गतेदेखि लगातार तरकारी आपूर्तिमा कमी आइरहेको उनले बताए । उनका अनुसार बजारमा तरकारी आपूर्ति कमी आउनुका साथै बजारबाट बाहिर जाने तरकारीमा समेत कमी आएको उनले बताए ।

 

उनले रेष्टुरेन्ट, होटलहरु पूर्ण बन्द हुँदा बजारबाट तरकारी बाहिरिन नसकेको बताए । झण्डै ३ लाख हाराहारीमा मानिसहरु उपत्यका बाहिर गएको र रिटेलका पसलहरु समेत धेरै जसो बन्द भएकाले तरकारी बजारबाट बाहिरिन नसकेको उनले बताए ।

 

‘तरकारी आइरहेको छ, पहिलेकोभन्दा कम आए पनि आए जति सामान बजारबाट बाहिरिन सकेको छैन, रिटेलहरुमा जान सकेको छैन,’ श्रेष्ठले चाणक्य पोष्टसँग भने ।उनका अनुसार लक डाउनको पहिलो दिन चैत्र ११ गते मंगलबार ७ सय ७५ मेट्रिकटन तरकारी आयात भएको थियो । दोस्रो दिन १२ गते बुधबार ३ सय ७१ मेट्रिकटन तरकारी बजारमा आपूर्ति भएको उनले बताए ।

 

यस्तै १३ गते बिहिबार ६ सय ३ मेट्रिकटन, १४ गते शुक्रबार ६ सय ९० मेट्रिकटन, १५ गते शनिबार ५ सय २७ मट्रिकटन १६ गते आइतबार ३ सय ४० मेट्रिकटन तरकारी आपूर्ति भएको थियो । १७ गते सोमबार २ सय ७५ मेट्रिकटन तरकारी बजार भित्रिएको उनले बताए ।

 

हाल लक डाउन अवधिभरका लागि कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बजार बिहान ६ बजेदेखि ८ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाउने व्यवस्था रहेको छ ।

इँटाभट्टाका १९ हजार मजदूर रित्तो हात घर फर्किए Read Previous

इँटाभट्टाका १९ हजार मजदूर रित्तो हात घर फर्किए

तेलको भाउ १८ वर्ष यताकै सस्तो, अझै घट्ने सम्भावना Read Next

तेलको भाउ १८ वर्ष यताकै सस्तो, अझै घट्ने सम्भावना