काठमाडौं । कोरोना भाइरसको रोकथामका लागि सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा सिटिजन्स बैंक इन्टरनेशनलले ४९ लाख रुपैयाँ सहयोग गरेको छ ।
कोरोना भाइरसले विश्व नै आक्रान्त बनेको बेला बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेश सरकार अन्तर्गतको कोषमा ७ लाखका दरले ७ वटै प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा सो सहयोग गरेको हो ।
यस विपतको घडीमा बैंकले गरेको सहयोगबाट कोरोना भाइरसको रोकथामका साथसाथै सीमान्तकृत तथा निम्न आय भएका नेपालीहरुको दैनिक अत्यावश्यक सामग्रीहरु प्रदान गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
महामारी नियन्त्रण गर्न बैंक हरेक प्रकारको सहयोग गर्न तयार रहेको कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताए । यस किसिमको सहयोगले कोरोना भाइरसबाट प्रभावितहरुको दुःखको घाउमा मलम लगाउन टेवा पुग्ने बैंकको विश्वास छ ।
सिटिजन्स बैंक इन्टरनेशनले लकडाउनको अवधिमा पनि ग्राहकको सुविधाका लागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ सेवा दिँदै आएको छ ।