दूध संकलन ५० प्रतिशतले घट्यो, उपत्यका बाहिर खपत शून्य

काठमाडौं । पछिल्लो समय देशभर ‘लक डाउन’ घोषणा गरिएको छ । पहिलो चरणमा चैत ११ गतेदेखि एक साताका लागि घोषणा गरिएको ‘लक डाउन’ दोस्रो चरणमा लम्ब्याएर एक हप्ताका लागि थप गरिएको छ ।

 

यस्तो अवस्थामा दैनिक उपभोग्य वस्तुमा पर्ने दूध खपत घट्दै गइरहेको छ । खपत मात्र नभई दूध संकलन समेत घट्न थालेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए । उनका अनुसार पछिल्लो समय ‘लक डाउन’ का कारण ५० प्रतिशतले बजारमा दूध संकलन घटेको छ ।

 

उनले ढुवानीमा सहजता नहुँदा उपत्यका बाहिरका किसानहरु दूध संकलन केन्द्रसम्म आउन जान नसक्दा दूध संकलन घटेको बताए । दूधको संकलनसँगै खपत समेत घट्न थालेको उनले जानकारी दिए ।

 

‘मानिसहरु बाहिर हिड्न नपाएपछि दूधको संकलन घटेको छ, अहिले झण्डै ५० प्रतिशतको हाराहारीमा दूध संकलन घटेको हो, यति मात्र हैन खपत पनि घट्ने क्रममा रहेको छ,’ केसीले चाणक्य पोष्टसँग भने ।

 

यस्तै डीडीसीले हाल ‘लक डाउन’ का कारण बिहान ६ बजेदेखि ८ बजेसम्म वसन्तपुर, न्यूरोड, लैनचौर र खुमलटाबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ । विशेष गरी चैत महिनाबाट दूध संकलन बढ्नु पर्ने र खपत घट्नु पर्ने भएता पनि हाल अवस्था विपरीत रहेको छ ।

 

काठमाडौंमा नियमित रुपमा ९० हजार लिटर दूध खपत हुने गर्छ । तर, हाल सो दूधको खपत ह्वातै घटेको छ । डीडीसीले मात्र १ लाख लिटर दूध बजारमा वितरण गर्दै आएको थियो ।

 

हाल रेष्टुरेन्ट तथा होटलहरु समेत बन्द भएकाले त्यहाँ वितरण हुने दूध घटेको छ । होटल तथा रेष्टुरेन्टमा मात्र ८ हजार लिटर दूध वितरण हुँदै आएको डीडीसीले जनाएको छ ।

 

निजी निकायसहित देशभर दैनिक ४ लाख लिटर दूध खपत हुने गर्छ । चैतमा दही धेरै खपत हुनु पर्नेमा ‘लक डाउन’ का कारण त्यो हुन सकेको छैन । खपत हुन नसकेका दूध विराटनगर र सुजल पाउडर उद्योगमा ‘डिस्पोज’ (पाउडरमा परिवर्तन) गर्ने गरिए पनि । हाल लक डाउनका कारण समेत उक्त पाउडर उद्योग केही समय बन्द रहेकाले त्यसमा समस्या आएको दूग्ध व्यवसायी सन्जीव झाले बताए ।

 

हाल खपत हुन नसकेका दूधहरुको ७० प्रतिशत मात्रा पाउडर दूध बनाउनमा प्रयोग भइरहेको छ । विराटनगर पाउडर उद्योग र सुजलमा डबल सिफ्टमा कर्मचारीहरुलाई अत्यावश्यक सुरक्षा व्यवस्था गरि काम भइरहेको उनले बताए ।

 

उपत्यका भित्र केही मात्रामा दूध खपत भए पनि उपत्यका बाहिर भने दूधको खपत एकदम न्यून रहेको उनले बताए । डीडीसीसँग २ लाख लिटर दूध स्टकमा राख्न सक्ने क्षमता रहेको छ । तर, दूध धेरै समय स्टकमा राख्न नमिल्ने भएकाले समस्या उत्पन्न भएको उनले बताए ।

 

‘यो समयमा दूधभन्दा बढी दही, मोही, आइसक्रिम लगायतका डेरीका वस्तु खपत हुने हो, तर कोरोना र लक डाउनका कारण सबै भद्रगोल छ,’ झाले चाणक्य पोष्टसँग भने ।

 

उनले हाल ६५ करोड भन्दा बढी मूल्यको सामग्री स्टकमा बसिरहेको र विक्रीका लागि बजार नभएको गुनासो गरे । किसानको दूध लिएपछि विक्री भए पनि नभए पनि रकम भुक्तानी गर्नु पर्ने हुन्छ । उनले भने ‘ ६ सय लिटर दूधमा ५ सय बढीको बटर बनाएका छौँ, यो धेरै समय राख्दा बिग्रिन सक्छ ।’

 

मानिसहरु कोरोनाका कारण बाहिर निस्किन डराइरहेका छन् जसले दूधको खपत घटाएको छ । यस्तै ‘लक डाउन’ को व्यवस्था पछि दूध संकलनमा समेत कमी आएको छ ।

 

हाल डीडीसी मात्र नभई निजी क्षेत्रका डेरी उद्योगहरु समेत ठूलो मारमा परेका छन् । व्यवसायीहरुले भोग्नु परेको घाटालाई मध्य नजर गर्दै सरकारले क्षतीपूर्ति दिने भनिरहे पनि त्यसका लागि हालसम्म कुनै निर्णय भइसकेको छैन । मन्त्रालयले हाल त्यस विषयमा छलफल भइरहेको जनाएको छ ।

 

नेपालमा दूध उत्पादन

 

नेपालमा दैनिक ५ लाख लिटरदेखि ६ लाख लिटर दूधको माग हुने गरेको छ । डीडीसीले दैनिक ५० हजार लिटरसम्म दूध उत्पादन गर्छ । नेपालभर वार्षिक ४३ लाख लिटर बढी दूध उत्पादन हुने गरेको छ ।

 

प्रदेश १ मा वार्षिक ३ लाख ४८ हजार लिटर, प्रदेश २ मा ११ लाख लिटर, प्रदेश ३ मा १८ लाख लिटर, प्रदेश ४ मा ८ लाख लिटर, प्रदेश ५ मा २ लाख १५ हजार लिटर, प्रदेश ६ मा ४ लाख लिटर र प्रदेश ७ मा १ लाख लिटर दूध उत्पादन हुने गरेका छन् ।

 

नेपाल भर कुल १ हजार ५७२ बढी घरेलु, साना, मझौला तथा ठूला दूध उद्योगहरु रहेका छन् । प्रदेश १ मा २९७ वटा दूध उद्योगहरु रहेका छन् । प्रदेश २ मा १३० उद्योग रहेका छन् । प्रदेश ३ मा सबैभन्दा बढी ६७० बढी दूध उद्योग छन् । प्रदेश ४ मा १६१, प्रदेश ५ मा ६५, प्रदेश ६ मा १५० र प्रदेश ७ मा १९० वटा दूध उद्योगहरु रहेका छन् ।

स्वास्थ्यकर्मीलाई नै बस्न दिएनन् घरबेटीले Read Previous

स्वास्थ्यकर्मीलाई नै बस्न दिएनन् घरबेटीले

सिटिजन्स बैंकद्वारा कोरोना रोकथामका लागि ४९ लाख सहयोग Read Next

सिटिजन्स बैंकद्वारा कोरोना रोकथामका लागि ४९ लाख सहयोग