काठमाडौं । लकडाउनका कारण बजारमा ताजा तरकारीको आपूर्तिमा कमी आएसँगै अण्डाको खपत भने बढेको छ । अण्डा शारीरिक शक्ति विकासका लागि महत्वपूर्ण हुने भएका मानिसहरुले यसको खपत धेरै गर्न थालेका हुन् ।
नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराज केसीका अनुसार पछिल्लो समय मानिसहरुले अण्डाको उपभोग बढी गर्न थालेका छन् ।अण्डा बनाउन सजिलो र पोषणयूक्त हुने भएकाले पनि यसको उपभोगमा वृद्धि आएको केसीले बताए ।
‘मानिसहरुले अण्डा धेरै किनिरहेका छन्, उपत्यकामा मात्र हैन, उपत्यका बाहिर पनि यसको उपभोग राम्रो भइरहेको छ,’ केसीले चाणक्यपोष्टसँग भने ।
उनले दैनिक ३१ लाख अण्डा उत्पादन भइरहेको बताएका छन् । उनले उपभोक्तले लक डाउनका कारण धेरै अण्डा किनेर राख्न थालेकाले यसको उपभोग बढेको बताए । उनले अण्डा धेरै समय राखेर खपत गर्न सकिने भएकाले उपभोक्ताको रोजाइमा यो पर्न गएको बताए ।
यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्रालये ‘लक डाउन’ भए पनि खाद्य वस्तु उत्पादन तथा आर्पूत सूचारु राख्ने निर्णय गरेको छ । यस अवस्थामा खाद्य समस्या उत्पन्न नहोस भनेर सरकारले खाद्यन्न, तरकारी, दूध, फलफूल, माछामासु, अण्डा तथा पशुपन्छीको दाना र आहार उत्पादनलाई सूचारु राख्न निर्देशन दिएको हो ।
खाद्यन्न सामग्रीको अपुग नहोस भनेर मन्त्रालयले खाद्यन्नको उत्पादन सँगै ढुवारी र विक्री वितरणलाई सूचारु राख्न अनुरोध गरेको छ ।सरकारले कुखुराको दाना तथा अण्डा ढुवानीमा लचिलोपन देखाए पनि सडकमा प्रहरीले भने केही स्थानमा सञ्चालन गर्न नदिएको केसीको गुनासो रहेको छ । उनले सरकारलाई कुखुराका दाना तथा अण्डाको ढुवानीमा कुनै रोकटोक नगरी सञ्चालन हुन दिन अनुरोध गरेका छन् ।
यस्तै आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ५६ करोड ओटा अण्डा उत्पादन भएको विभागले जनाएको छ । आव २०७४/७५ मा १ अर्ब ४७ करोड ओटा अण्डा उत्पादन भएको थियो ।
पशु सेवा विभागका महानिर्देशक वंशी शर्माले भने पछिल्लो समय अण्डाको उपभोग घटेको बताएका छन् । उनले विगतको तुलनमा अण्डाको उपभोग लक डाउनका कारण घटेको बताएका हुन् ।
‘अहिलेको अवस्था नाजुक छ, सबै पसलहरु बन्द छ र भने जति अण्डा आउन सकेको छैन, त्यसले गर्दा अण्डाको उपभोग घटेको हो,’ शर्माले चाणक्यपोष्टसँग भने ।
यकिन तथ्यांक नभए पनि पछिल्लो समय अण्डाको उपभोग घटेको उनको दाबी छ । दैनिक नेपालमा सामान्यतया ३० लाख वटा अण्डा उपभोग हुने गरेको उनले बताए ।
उपत्यकामा मात्र कुल खपतको आधाभन्दा बढि अण्डा खपत हुने गरेको छ । उनले एकै पटक धेरै ढुवानी गर्न सम्भव नभए पनि जिल्ला प्रशासन कार्यालयको सिफारिसमा ढुवानीको वयवस्था भइरहेको उनले बताए ।
अण्डामा आत्मनिर्भर हुन प्रतिव्यक्ति प्रतिवर्ष ४८ वटा अण्डा उपभोग गर्न पाउनुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ । अहिले नेपालमा प्रतिव्यक्ति ५३ ओटा अण्डाका दरले उपभोग हुनेगरेको पशु सेवा विभागका महानिर्देशक वंशी शर्माले बताए ।