काठमाडौं । कोरोना भाइरस परीक्षण र उपचार आवश्यक स्वास्थ्य उपकरण तथा औषधि लिन चीन गएको नेपाल वायुसेवा निगम (नेपाल एयरलाएन्स)काठमाडौं आइपुगेको छ ।
आइतबार ल्याइर्पुयाएको सामाग्रीमा कोरोना संक्रमण फैलन नदिने औषधि, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), एन-९५ मास्क, प्रयोगशालामा सामग्री, थर्मल गन, आईसीयू शय्या, संक्रमण टेस्ट गर्ने किटलगायत करिब साढे १२ टन सामान छन् ।
नेपाल वायुसेवा निगमको वाइडबडी विमानले चीनको ग्वाङजाउबाट कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री आइतबार बिहान साढे पाँच बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइ पुर्याएको हो । औषधि उपचारजन्य सामग्री लिन निगमको वाइडबडी जहाज शनिबार दिउँसो ग्वाङ्जाओ गएको थियो ।
ती स्वास्थ्य सामग्री सरकारले विभिन्न अस्पताल तथा प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैबीच नेपालका लागि सिचुआन प्रान्त सरकार, सिचुआन प्रान्तीय लगानी समूह , चिनियाँ दूतावास, अलिबाबा फाउन्डेसन लगायतले सहयोगार्थ दिएका आपतकालीन स्वास्थ्य सामग्रीहरू, पीपीईलगायत सामान बोकेर चिनियाँ जहाज काठमाडौं प्रस्थान गरेको बताइएको छ ।
स्वास्थ्य परीक्षणका किट पनि नेपाल ल्याउने तयारी भइरहेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।