काठमाडौं । अब लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले सडकमै २ घण्टा उभ्याउने भएको छ । यसअघि विनाकारण घरबाहिर निस्किनेलाई नियन्त्रणमा लिँदै आएको प्रहरीले नीति परिवर्तन गर्दै यस्तो व्यवस्था गरेको हो ।
नियम उल्लंघन गर्नेलाई सडकमा उभ्याएर कोरोना भाइरसबारे सचेतनामूलक प्रशिक्षण दिइने प्रहरीले जनाएको छ । उनीहरूलाई सामाजिक दूरी कायम गरी सम्बन्धित स्थानमा प्रहरी जवानले प्रशिक्षण दिने बताइएको छ ।
सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि १८ गतेसम्मलाई लकडाउन घोषणा गरेको छ । यो अवधि अझै लम्बिन सक्ने सम्भावना समेत रहेको छ ।