कोरोनाबाट शिथिल बनेको अर्थतन्त्र जोगाउन कुन देशले ल्याए कति रकमको राहत प्याकेज

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिले विश्व नै आक्रान्त बनेको छ । यसको संक्रमण विश्वका १९९ देशमा फैलिसकेको छ ।

 

शुक्रबार दिउँसोसम्म ५ लाख ३७ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने करिब २४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । कोरोनाका कारण अहिले विश्वका १ सयभन्दा बढीले सीमानाका बन्द गरेका छन् भने ३ दर्जन देशले देशनै लकडाउन गरेका छन् ।

 

यस्तो अवस्थामा अहिलेविश्व अर्थतन्त्र नै ठप्प जस्तै भएको छ । अधिकांश देशको होटल, एयरलायन्स, पर्यटन, ट्राभल एजेन्सी, सेयर बजार लगायत व्यापार व्यावसाय बन्द भएका छन् । विकसित देशमा समेत बेरोजगारीको दर बढ्दै गएको छ भने अविकसित देशहरुमा नागरिकलाई दैनिक गुजारा चलाउनै कठिन हुँदै गएको छ ।

 

यस्तो अवस्थामा देशको समग्र अर्थतन्त्रलाई उकास्न तथा नागरिकहरुलाई खानपिनका लागि विभिन्न देशले आर्थिक राहत प्याकेज (स्टिमुलस प्याकेज) घोषणा गरेका छन् । यस्तो रकम नागरिकको खानपिनका साथै उद्योगी, व्यापारीका लागि सहुलियत ऋण दिनका लागि समेत खर्च गरिने ती देशहरूले बताएका छन् ।

 

यसरी अहिलेसम्म राहतको कार्यक्रम घोषणा गर्ने राष्ट्रमा चीन, अस्ट्रेलिया, अमेरिका, जापान, भारत, क्यानडा, फ्रान्स, जर्मनी, दक्षिण कोरिया लगायत देश रहेका छन् ।

 

कुन देशले कति रकमको राहत प्याकेज घोषणा गरे ?

 

चीन 

 

सर्वप्रथम कोरोना भाइरस देखिएको चीनले संक्रमण सुरु भए लगत्तै ३९४ अर्ब डलरको राहत प्याकेज ल्याएको थियो। पिपुल्स बैंक अफ चाइनाले संकटको मारमा परेका कम्पनीहरुलाई राहत दिनका लागि ७९ अर्ब डलर छुट्याएको थियो।

 

यसैगरी उसले ऋण लिएका कम्पनीहरुको ब्याज दरमा समेत व्यापक कटौती गरेको छ। यस्तै चिनियाँ बैंकहरुले भुक्तानी स्थगित गरी कर्जाहरुलाई समेत पछि तिर्ने व्यवस्था मिलाएको थियो।

 

इटाली

 

कोरोनाबाट सबैभन्दा धेरै क्षति व्यहोरेको इटाली सरकारले ४९ अर्ब डलरको राहत प्याकेज दिएको छ। उसले कम्पनी तथा कामदारहरुलाई सहयोग गर्न यो राहत प्याकेज ल्याएको जनाएको छ।

 

यसअन्तर्गत इटालीले स्वास्थ्य प्रणाली, बेरोजगारी समस्या, कर तथा कर्जा भुक्तानीलाई लक्षित गरिने बताइएको छ। यस प्रयास स्वरुप वित्तीय क्षेत्रमा ३४० अर्ब यूरो खर्च गरिनेछ।

 

यद्यपि इटलीका प्रधानमन्त्रीले आफूले सकेजति सबै उपाय लगाए पनि कोरोना नियन्त्रण बाहिर गएको भन्दै देशले कोरोना विरुद्ध आत्मसमर्पण गरेको बताएका छन् ।

 

अमेरिका

 

अहिले विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित रहेको अमेरिकाल विभिन्न चरणमा करिब ३.२ ट्रिलियन डलरभन्दा बढीको सहायता प्याकेज ल्याइसकेको छ । पहिलो चरणमा ७५० अर्ब डलरको आर्थिक राहतको प्याकेज ल्याइसकेकोअमेरिकाले हाल तेस्रो चरणमा २.२ ट्रिलियन डलरको प्याकेज ल्याएको छ ।

यो राहत प्याकेज नागरिकको खानपिनका साथै उद्योगी, व्यापारीहरुलाई सहयोग गर्न, स्वास्थ्य सामग्री उत्पादन लगायत काममा खर्च हुने अमेरिकाले बताएको छ ।

 

अष्ट्रेलिया

 

अष्ट्रेलियाको स्कट मोरिसन सरकारले पनि विभिन्न चरणमा ७२ अर्ब डलर बराबरको आर्थिक प्याकेज ल्याइसकेको छ । अष्ट्रेलियाको केन्द्रीय बैंकले पनि बजारमा प्रत्यक्ष हस्तक्षेप गर्दै संकटकालीन अवस्थामा ब्याजदर कटौती तथा केही सहज बनाउने औजारहरु घोषणा गरिसकेको छ।

 

अष्ट्रेलियाको फेड सरकारले १७.६ अर्ब डलरको आर्थिक सहायता प्याकेज ल्याएको छ। त्यसमध्ये २.४ अर्ब डलरको हेल्थ प्याकेज रहेको छ।
यसैगरी भिक्टोरिया र क्यापिटल टेरिटोरी बाहेक अन्य सबै राज्यहरुले पनि ४ अर्ब डलरको स्वास्थ्य र आर्थिक सहायताका आफ्ना आफ्ना छुट्टा छुट्टै प्याकेज समेत ल्याएका छन्।

 

भारत

भारत सरकारले बिहीबार गरिब तथा कमजोर आर्थिक अवस्था भएकाहरुका लागि १ लाख ७० हजार करोड भारु (२२.५ बिलियन अमेरिकी डलर)को राहत प्याकेजको घोषणा गरेको छ । भारतले उक्त रकम दैनिक ज्याला मजदूर र लकडाउनको प्रत्यक्ष प्रभाव पारेका गरिबहरूलाई सहयोग गर्न सो रकम खर्च गर्ने बताएको छ ।

 

भारतले उक्त रकमले ८० करोड जनताका लागि आगामी ३ महिनासम्म निःशुल्क खाद्यान्न वितरण गर्ने जनाएको छ । साथै स्वास्थ्यकर्मी बीमा, स्वास्थ्य सामग्री उत्पादन, विभिन्न व्यावसायीक कर छूट लगायतमा खर्च गर्ने बताइएको छ ।

 

स्पेन

 

इटलीपछि सबैभन्दा धेरै क्षति व्योरेको स्पेनले २१९ अर्ब डलरको राहतको तयारी गरेको छ। यस्तै १०० अर्ब डलरको कम्पनी लोनको ग्यारेन्टी तथा १७ अर्ब डलरको प्रत्यक्ष सहायता उपलब्ध गराउने भएको छ। प्रधानमन्त्री पेद्रो सान्जले निजी लगानीलाई सपोर्ट गर्नकालागि ८३ अर्ब यूरो सहयोग गर्ने बताए।

 

बेलायत

 

बेलायती सरकारले कामदार वर्गका लागि सबैभन्दा ठूलो राहत प्याकेज ल्याएको छ। उसले रोजगारी गुमाएका मासिक २५०० पाउण्ड मासिकका दरले तलब पाउने कामदारको ८० प्रतिशतसम्म तलब सरकारले उपलब्ध गराउने अनुदानले कभर गर्ने तयारी गरेको छ। आगामी जुन महिनासम्म कुनै पनि व्यापार व्यवसायले तिर्नुपर्ने करिब ३० अर्ब पाउण्ड बराबरको भ्याट मिनाहा गरिदिएको घोषणा समेत गरेको छ।

 

यस्तै, बेलायती सरकारले ४०० अर्ब डलर बराबरको बेलआउट फण्ड ल्याएको छ जुन कुल घरेलु उत्पादनको १५ प्रतिशत हुन आउँछ।  सरकारले व्यापारलाई सघाउने, साना ब्यवसायी तथा हस्पिटालिटी सेक्टरलाई २५ हजार पाउण्ड बराबरको नगद अनुदान उपलब्ध गराउने बताएको छ।

 

फ्रान्स

 

फ्रान्सले साना व्यापार तथा कामदारहरुलाई राहतका लागि ४५ अर्ब युरो (करिब ४७ खर्ब रुपैयाँँ) सहायता प्याकेज घोषणा गरेका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण देशमा आएको विषम् आर्थिक परिस्थितिको सामना गर्नको लागि उक्त प्याकेजको घोषणा गरिएको बताइएको छ ।

यसबाट व्यापारिक सहायताका साथै सन् २०२० मा कुल घरेलु उत्पादन (जीडीपी) मा गरिएको करिब १ प्रतिशतको गिरावटको पूर्वानुमानका लागि र कर्मचारीलाई तलबस्वरुप सो रकम खर्च गरिने फ्रान्सले बताएको छ ।

 

न्यूजिल्याण्ड

 

न्यूजिल्याण्ड सरकारले पनि १२.१ अर्ब डलरको रेस्क्यू प्याकेज ल्याएको छ। न्यूजिल्याण्डका अर्थमन्त्री ग्रान्ट रोबर्टसनले कोभिड १९ भाइरस विरुद्ध लड्नकालागि भन्दै राहत प्याकेज घोषणा गरे।

 

सरकारले यसबाट प्रभावित सबै क्षेत्रहरु र ब्यापारका लागि समेत सब्सिडी दिनकालागि ५.१ अर्ब डलरको राहत दिएको छ। यस्तै ब्यवसायमा कर कटौती तथा क्यास फ्लोलाई ध्यानमा राखी २.८ अर्ब डलरको प्याकेज ल्याएको छ।

जापान


जापान सरकारले ४ अर्ब डलरको प्याकेज घोषणा गरेको छ। यो प्याकेज साना र मध्यमस्तरका कम्पनीहरुमा लक्षित छ। सरकारले भाइरसका कारण प्रभावित साना उद्योग तथा फर्महरुलाई बिना ब्याजदर नै रकम उपलब्ध गराउने भएको छ।

 

जर्मनी

 

जर्मन सरकारले कम्तीमा पनि ६०८ अर्ब डलरको राहत प्याकेज सार्वजनिक गरेको छ। यसैगरी जर्मनीले व्यापार व्यवसायलाई असिमित कर्जा उपलब्ध गराउने जनाएको छ।

 

टर्की

 

टर्कीस सरकारले आर्थिक मन्दीको अवस्थाबाट अर्थतन्त्रलाई बचाउन नयाँ प्याकेज सार्वजनिक गरेको छ । टर्कीको आर्थिक स्थिरताको ‘शिल्ड प्याकेज’ नाम दिइएको उक्त प्याकेज १०० अर्ब लिरा (१५.३ अर्ब डलर) को छ। ७५० अर्ब डलरको टर्कीस अर्थतन्त्रलाई कोरोनाबाट बचाउनका लागि उसले यस्तो प्याकेज ल्याएको जनाएको छ।

 

यस प्याकेज अन्तर्गत व्यापार क्षेत्रका विभिन्न करका दरहरुमा पुनर्विचार गर्ने, कर्जा तथा सामाजिक बीमा भुक्तानी लगायतका विभिन्न इन्सेन्टिभहरु रहेका छन्। व्यापारीहरुले सरकारी बैंक हल्क बैंकबाट लिएको ऋण तिर्नकालागि ३ महिना समय दिएको छ।

 

यस्तै विश्व बैंक, अन्तराष्ट्रिय मुद्रा कोष, विश्व स्वास्थ्य संगठन लगायत अन्तराष्ट्रि संस्थाहरुले पनि कोरोना विरुद्ध लड्न अर्बौं डलरको राहत प्याकेज घोषणा गरिसकेका छन् ।

 

विश्वका अधिकांश देशले विभिन्न आर्थिक प्योकजमार्फत आफ्ना नागरिकलाई विपद्को घडीमा राहतको अनुभूति गाराएका छन् ।बिडम्वना लकडाउनमा गइसकेको नेपाल सरकारले भने अहिलेसम्म देशको अर्थतन्त्र उकास्न तथा न्यून आयस्तर र दैनिक ज्यालादारी गरेर जीविका चलाउने नागरिकका लागि कुनै राहत प्याकेज ल्याउन सकेको छैन ।

-एजेन्सीको सहयोगमा

 

आजदेखि बजारमा आधा सिलिण्डर ग्यास, कति पर्छ मूल्य Read Previous

आजदेखि बजारमा आधा सिलिण्डर ग्यास, कति पर्छ मूल्य

प्राधिकरणले ऊर्जा उद्यमीलाई तत्काल बिल भुक्तानी नगर्ने Read Next

प्राधिकरणले ऊर्जा उद्यमीलाई तत्काल बिल भुक्तानी नगर्ने