काठमाडौं । एनसेलले प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशत बोनस दिने भएको छ ।
एनसेलले कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि हाल देशभर कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई दूरसञ्चार सेवा पहुँचमा कुनै कठिनाइ नहोस् भन्ने हेतुले बोनस रकम प्रतिशतमा वृद्धि गरेको एनसेलले जनाएको छ ।
यसअघि नेपाल दूरसञ्चार प्राधिकरणले सबै टेलिफोन सेवा प्रदायकलाई रिचार्जमा बोनस दिन निर्देशन दिएसँगै एनसेलले ५० प्रतिशत बोनस दिएको थियो । यसलाई वृद्धिगरी १२० प्रतिशत पुर्याइएको कम्पनीले जनाएको छ ।
ग्राहकले रिचार्ज बापत प्राप्त गर्ने बोनस रकमबाट एनसेल नेटवर्क भित्रका अन्य नम्बरमा कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् । रिचार्ज कार्ड, भिएफटी, इलेक्ट्रोनिक रिचार्ज लगायत सबै माध्यमबाट हुने रिचार्जमा यो बोनस प्राप्त हुने एनसेलले जनाएको छ ।
यो योजना अन्तर्गत एनसेलका ग्राहकले रू. ५०, रू. १००, रू. २००, रू. ३००, रू. ५०० र रू. १००० को रिचार्जमा बोनस प्राप्त गर्न सक्छन् । यो योजना अन्तर्गत रू. ५० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप रू. ६० प्राप्त गर्छन् । त्यस्तै रू. ५०० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप रू. ६०० प्राप्त गर्छन् । बोनस रकम ३ दिनसम्मका लागि मान्य हुने कम्पनीले जनाएको छ ।
हालको विपद्को परिस्थितिलाई मध्य नजर गर्दैै बुधबारमात्र एनसेलले निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा, ७ दिन समयावधि भएको १५ जीबीको स्टे होम प्याक र रू. २०० सम्म एनसेल सापटी लिन सकिने व्यवस्था पनि गरेको थियो ।