काठमाडौं । सरकारले कोरोनको रोकथामका लागि घोषणा गरेको लकडाउन पछि बजारमा तरकारीको मूल्य वृद्धि भएको छ । हाल बजारमा रहेका गोलभेँडा, प्याज, आलु, काउली, गाजर लगायतका तरकारीको मूल्य आकाशिएको हो । पछिल्ला ५ दिनमा कालिमाटी बजारमा विक्री हुने तरकारीको मूल्यमा निकै ठूलो अन्तर देखिएको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार शनिबारसम्म कालिमाटी बजारमा गोलभेँडाको खुद्रा मूल्य ५५ रुपैयाँदेखि ७५ रुपैयाँ प्रतिकेजी रहेको थियो । आज (बिहिबार) कालिमाटी बजारमा गोलभेडाको खुद्रा मूल्य १०५ देखि ११५ रुपैयाँ पुगेको छ ।
कालिमाटी खुद्रा बजारमा प्याजको मूल्य ७५ रुपैयाँ प्रतिकेजी पुगेको छ । त्यसअघि यसको मूल्य प्रतिकेजी ६५ रुपैयाँ रहेको थियो । कालिमाटी बाहिर भने प्याजको मूल्य १ सय ५० पुगेको छ ।हाल बजारमा च्याउ २ सय ५५ रुपैयाँ प्रतिकेजी खुद्रा बजारमा विक्री भइरहेको तथ्यांकले देखाएको छ ।
यस्तै आलुमा समेत ५ देखि १० रुपैयाँ प्रतिकेजी वृद्धि भएको छ । कालिमाटी बजार भित्रै काउली प्रतिकेजी ६५ रुपैयाँ विक्री भइरहेको छ । खुद्रा बजारमा त्यही काउली १ सय ५० रुपैयाँसम्ममा विक्री भइरहेको पाइएको छ ।
हाल कालिमाटी बजारमा ५५ रुपैयाँदेखि २ सय ५५ रुपैयाँसम्मका तरकारीहरु विक्री भइरहेका छन् ।यस लगतै बन्दा, भन्टा, सिमी, मटर कोशा, घुउ सिमी लगायतका तरकारीकोसमेत मूल्य दैनिक वृद्धि हुने क्रममा रहेको छ ।
मंगलबार कालिमाटीमा ५ सय ४१ मेट्रिकटन तरकारी भित्रिएको थियो । आज बिहानसम्म मात्र डेढ सय मेट्रिकटन तरकारी भित्रिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजप्रसाद पौडेलले बताए ।
उनका अनुुसार हाल बजारमा तरकारी आपूर्ती कम हुन थालेको छ । उनले अझै पनि कालिमाटी बजारमा तरकारी आपूर्ती काम हुँदै जाने बताए ।देशभर ‘लक डाउन’ चलिरहेकाले सवारीसाधन ढुवानीमा समस्या रहेको हुँदा तरकारी आपूर्तीमा समेत समस्या भएको उनले बताए ।
हाल केही समयका लागि कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कालिमाटी बजार बिहान ६ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ । साथै बेलुका ५ बजेदेखि ८ बजेसम्मका लागि मात्र कालिमाटी बजार सञ्चालन गर्न पाउने व्यवस्था रहेको पौडेलले जानकारी दिए ।