काठमाडौं । सरकारले जनताको भान्छामा दैनिक उपभोग्य वस्तुको कुनै अभाव हुन नदिन तयारी तीव्र बनाएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जानकारी दिएका छन् ।
काठमाडौं उपत्यकाको हकमा अत्यावश्यक वस्तु पुर्याउन करिब २ दर्जन बढी मिनीट्रकको व्यवस्था गरिएको छ । काठमाडौँमा १५, ललितपुर र भक्तापुरमा सात/सात मिनीट्रक तयारी अवस्था छन् । ‘ती मिनीट्रकको प्रयोग गरेर अभाव भएको ठाउँमा चामल, दाल, नुन, तेल, आलु, प्याजलगायत अत्यावश्यक वस्तु पुर्याइने छ,’ मन्त्री भट्टले भने, ‘जहाँ त्यस्ता खाद्य वस्तुको अभाव हुन्छ, त्यहाँ पुर्याउँछौँ ।’
त्यसका लागि मन्त्रालयले टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ । ‘कुनै टोलमा खाद्यान्नको अभाव छ भने ११३७ मा फोन गर्नुपर्छ,’ उनले भने, ‘तत्कालै अत्यावश्यक वस्तुसहितको सरकारी टोली त्यहाँ पुग्छ । अहिले हामी त्यसको तयारीमा छौँ ।’
सोही मिनीट्रकमा राखेर घरघरमा खाद्यान्न पुर्याइने उनले बताए । कोरोनाको माहामारी फैलिएको अवस्थामा घरघरमा पु¥याउनुपर्ने अवस्था आउन सक्नेतर्फ सरकार सचेत रहेको उनको भनाइ थियो । ‘त्यो स्थितिको सामाना गर्न हामी तयार हुनुपर्छ,’ मन्त्री भट्टले भने ।
जनताको भान्छामा अत्यावश्यक वस्तुको अभाव हुन नदिन भाटभटेनी, बिगमार्ट, सेल्सवेरीलगायत ठूला व्यापारिक प्रतिष्ठानलाई आफ्ना ग्राहकलाई नियमित सामान पुर्याउने व्यवस्था गर्न भनिएको उनले बताए । ‘टेलिफोन तथा अनलाइनबाट ग्राहकसँग आफ्नो अर्डर लिने र घरघरमा पुर्याउन पनि सहजीकरण गरिरहेका छौँ,’ उनले भने, ‘त्यस्ता कम्पनीको ‘मोबाइल टिम’ तथा ‘भ्यान’लाई लकडाउनको समयमा निर्वाध सञ्चालनमा ल्याउन दिनका लागि विशेष पासको व्यवस्था गर्दैछौं ।’
सम्बन्धित जिल्ला प्रशासनले पास जारी गरिदिने उनको भनाइ छ । “सङ्कटको समयमा जसरी भए पनि सेवा दिने मनस्थिति बनाएर बस्न उनीहरुलाई आग्रह गरिएको छ,’ उनले भने। काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोटलगायत जिल्लाबाट उपत्यकाका लागि तरकारी तथा दूध बोकेर आउने सवारी साधनलाई निर्वाध प्रवेशको व्यवस्था मिलाइएको छ ।
विपद्का समयमा अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै व्यवधान आउन नदिन सरकार प्रत्येक क्षण सचेत अवस्थामा रहेको भन्दै उनले ढुवानीका साधन नियमित सञ्चालन होउन् भनेर ट्रक व्यवसायी महासङ्घसँग छलफल गरेको बताए। ‘मैले ट्रक व्यवसायी महासङ्घको अध्यक्ष र महासचिवलाई मन्त्रालयमा बोलाएरै छलफल गरेको छु,’ उनले भने, ‘कुनै पनि हालतमा ढुवानीका साधन रोकिनु हुँदैन भनेर भनेको छु ।’
चालकलाई अप्ठ्यारो अवस्थामा काम गर्न प्रोत्साहित गर्न तथा विशेष भत्ताको व्यवस्था गर्न महासङ्घलाई आग्रह गरेको उनले बताए । ‘चालकलाई जो भत्ता दिँदै आउनुभएको छ, त्यसमा थप गरेर दिनुस् भनेको छु,’ मन्त्री भट्टले भने, ‘ढुवानीको लागत पनि काम नगर्नुस्, अहिलेको बेलामा तपाईंहरुले योगदान गर्नुपर्छ भनिएको छ ।’ ढुवानी व्यवसायीले पनि अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै व्यवधान आउन नदिने प्रतिबद्धता जनाइसकेको उनले जानकारी दिए ।
मङ्गलबार रातिदेखि लागू हुने गरी भारतले २१ दिने ‘लकडाउन’को घोषणा गरेसँगै ग्यासको अभाव हुन नदिन सरकारले विशेष पहल गरिरहेको बताए । ‘यसले चुनौती थपेको छ, ग्यासको बुलेट भारतको मात्रै छ, मङ्गलबार २०/२२ बुलेट ग्यास आएको छ,’ मन्त्री भट्टले भने, ‘नेपालमा ग्यास लिएर आउने भारतीय चालकले बुलेट चलाउन नमानेको अवस्थामा के गर्ने भन्ने विषयमा सरकार गम्भीर छ । हामीले त्यहाँको सम्बन्धित पक्षसँग कूटनीतिक पहलबाट छलफल गर्ने तयारी गरेका छौँ ।’
आपूर्ति व्यवस्थालाई सहजीकरण गर्न नेपाल र भारतका वाणिज्य सचिवबीच नियमित कुराकानी हुने व्यवस्था मिलाइएको उनले बताए । अहिलेसम्म भारतबाट आयात हुने कुनै पनि वस्तुमा अवरोध नभएको उनको भनाइ छ ।रासस