काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एनसेलले १० करोड रुपैयाँ दिएको छ।
यो सहयोग कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारमा उपयोग हुने कम्पनीले जनाएको छ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले मंगलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीलाई १० करोडको चेक हस्तान्तरण गरे।
स्थापनाकालदेखि एनसेलले विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेपालको सामाजिक, आर्थिक विकासमा सहयोग पुर्याउँदै ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको दाबी गरेको छ।