काठमाडौं । विश्वभर फैलिरहेको कोरोना भाइरस नेपालमा पनि देखा परेपछि सरकारले आजदेखि देशभर ‘लक डाउन’ घोषणा गरेको छ ।लकडाउन घोषणा भएपछि देशभरको जनजिवन अस्तव्यवस्त बन्न पुगेको छ । यसले अधिकांश विकास आयोजना समेत प्रभावित भएका छन् ।
मेलम्ची खानेपानीका आयोजना कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले कोरोनाका कारण मेलम्ची खानेपानीको समेत प्रभावित भएको बताए । उनका अनुसार कोरोनाका कारण कर्मचारीहरु त्रासमा केही कर्मचारी गाउँ फर्किएका र भएका पनि घरबाट बाहिर ननिस्किएका कारण आयोजनाको काम ठप्प जस्तै भएको छ ।
कोरोनाका कारण नाका समेत बन्द भएको र आवजावतमा असहज भएपछि सिमेन्ट, गिट्टी लगायतका सामग्री ल्याउन समस्या भएको उनले बताए ।‘कर्मचारीहरु दैनिक घट्दै छन्, दैनिक हुन काम घट्दै छ, कामले गति लिन सकेको छैन, खत्रीले चाणक्यपोष्टसँग भने ।
हाल मेलम्ची खानेपानीको टनेलमा ‘हेडवर्क्स’ (पानी संकलन गर्ने ठाउँ) को काम भइरहेको छ । सो कामले समेत कोरोना प्रभावका कारण गति लिन नसकेको हो ।नयाँ ठेक्का सम्झौता अनुसार मेलम्चीको शुरुङ निर्माण १२ महीना र ‘हेडवर्क्स’ निर्माण १५ महिना भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
आयोजना शुरु भए पश्चात् दुई निर्माण कम्पनीले सम्पन्न गर्न नसकेपछि हाल यो काम चिनीयाँ कम्पनी सिनो हाइड्रोलाई सुम्पिइएको हो । सिनो हाइड्रोले २०७६ असोज २४ मा ‘हेडवर्क्स’ निर्माणको ठेक्का सम्झौता गरी सोको निर्माण कार्य शुरु गरेको छ । चालू आवका लागि मेलम्चीमा ७ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
निर्माण व्यवसायीले २०७६/७७ मा ‘कफरड्याम’ (पानी संकलन गर्नका लागि निर्माण गरिने संरचना) निर्माण तथा वैकल्पिक पाइप ‘डाइभर्सन’ सञ्चालन गर्नु पर्नेछ । साथै, गेट ९ र १० जडान गर्नुका साथै मुख्य सुरुङको फिनिसिङ पनि यसै साल सम्पन्न गर्नु पर्नेछ । हाइड्रो-मेकानिकल जडान गर्नुका साथै सुन्दरीजल देखि पानी प्रशोधन केन्द्र तथा बाग्मती नदीसम्मको कार्य म्पन्न गरी सुरुङको परीक्षण पनि यसै साल गरिसक्नु पर्नेछ ।
पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाको हेलम्बु रिवर्माबाट सुन्दरीजलसम्म २६.५ किलोमिटर लामो सुरुङबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यका भित्र्याउने योजना रहेको छ ।आयोजनाको दोस्रो चरणमा याङ्ग्रस र लार्के खोलाबाट दैनिक १७/१७ करोड लिटरका दरले थप पानी काठमाडौं उपत्यका ल्याउने लक्ष्य रहेको छ ।