तारे होटल यथावत् सञ्चालनमा रहने

काठमाडौं । कोभिड-१९ को सङ्क्रमणलाई फैलन नदिन सरकारले आजदेखि देशभर लकडाउन गरेको छ । अत्यावश्यक बाहेकका सेवा बन्द हुनेछन् भने सर्वसाधारण घरबाट बाहिर निस्कन पाउँदैनन् । यस्तो अवस्थामा मुलुकभरका होटल क्षेत्र पनि बन्द छन् । तर राजधानी काठमाडौं उपत्यकाका पर्यटकीय होटलदेखि तारे होटलले भने अत्यावश्यक सेवा दिइरहेका छन् ।

 

सरकारको निर्णय अनुरुप आजबाट लकडाउन भएपनि काठमाडौंका कतिपय तारे होटलले न्यूनतम सेवा उपलब्ध गराइरहेको हानले जनाएको छ ।

 

होटलमा रहेका पाहुनालाई न्यूनतम कर्मचारी व्यवस्थापन गरी सेवा दिइरहेको हानका प्रथम उपाध्यक्ष विनायक शाहले जानकारी दिए । ‘भएका पाहुनालाई व्यवस्थापन गर्नु हाम्रो जिम्मेवारी हो, त्यो पुरा गरेका छौँ, अत्यावश्यक सेवाका पाहुना पर्यटकलाई विशेष अनुमति लिएर होटलसम्म आवतजावत गर्ने व्यवस्था पनि मिलाएका छौँ,’ उनले भने ।

 

अहिले विशेषगरी अन्तरराष्ट्रिय एयरलायन्सका कर्मचारीलगायत तारे होटलमा बसेका छन् । उनीहरु समान्य अवस्थामा पनि होटलमा बस्नुपर्ने हुन्छ । त्यसबाहेकका केही पर्यटक मात्रै होटलमा छन् । हानका सदस्य होटलमा कमभन्दा कम जनशक्ति व्यवस्थापन गरी सेवा दिने व्यवस्था मिलाइएको छ । लकडाउनको अवज्ञा नहुने गरी होटलको अत्यावश्यक सेवा सञ्चालनमा रहेको हानले जनाएको छ ।

 

देश पूरै लकडाउन भएपछि स्वभाविक रुपमा होटल बन्द हुन्छन् । मानवीय भावले भएका पाहुनाको सेवा गर्नु कर्तव्य भएकाले आकस्मिक सेवा मात्रै सञ्चालन गरिएको उपाध्यक्ष शाहको भनाइ छ ।

 

यसअघि मुलुक लकडाउन नभएको अवस्थामा हानले अत्यावश्यक सेवाभित्र होटल पनि पर्ने भएकाले निश्चित कर्मचारी राखेर सेवा सञ्चालन गर्ने निर्णय लिएको थियो ।

 

होटलमा रहने कर्मचारीलाई स्वास्थ्यसम्बन्धी आवश्यक मास्क, ज्वरो नाप्ने यन्त्र, स्यानिटाइजर र पञ्जा प्रबन्ध गरी काममा लगाइएको हानले जनाएको छ । हानको केन्द्रमा ३५० र देशभरका १५ वटा क्षेत्रीय च्याप्टरमा आवद्ध गरी करिब तीन हजार पर्यटकस्तरीयदेखि पाँचतारे होटल छन् ।

लकडाउनका कारण मेलम्ची खानेपानीको काम समेत प्रभावित Read Previous

लकडाउनका कारण मेलम्ची खानेपानीको काम समेत प्रभावित

अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग पूर्ण क्षमतामा चलाउन सरकारको आग्रह Read Next

अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग पूर्ण क्षमतामा चलाउन सरकारको आग्रह