ट्रम्पलाई झट्का, १ खर्ब डलरको आर्थिक प्याकेज नै तुहियो

कोरोनाभाइरसका कारण समस्यामा परेको अमेरिकी अर्थव्यवस्थाको उद्धारका लागि भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा अमेरिकी माथिल्लो सदन सिनेटमा प्रस्तुत १ खर्ब अमेरिकी डलरको एक प्रस्ताव बहुमत नपुग्दा तुहिएको छ ।

 

उक्त प्रस्तावको विपक्षमा रहेका डेमोक्रेटिक पार्टीका सदस्यहरुले मतदानमा भाग लिएका थिएनन् भने रिपब्लीकन पार्टीका पाँच सदस्य कोरोनाभाइरसको संक्रमणको आशंकामा क्वारेन्टाइनमा रहेका कारण सिनेटको मतदानमा उपस्थित हुन पाएका थिएनन् ।

 

डेमोक्रेट्सका सांसदहरुले रिपब्लिकन पार्टीले अघि सारेको योजनाले लाखौं अमेरिकी कामदारलाई पर्याप्त संरक्षण गर्न नसक्ने आरोप लगाएका थिए । उनीहरुको भनाइमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिलाई आवश्यक पर्ने स्वास्थ्य सेवा उपलब्ध गराउन पनि प्रस्तावित योजना असफल रहेको छ ।

 

विधेयकमा अमेरिकी परिवार र हजारौं बन्द उद्योग व्यवसायलाई मद्दत गर्न झन्डै १ खर्ब ७० अर्ब वा सोभन्दा बढी रकम खर्च गर्ने प्रस्ताव गरिएको थियो ।

 

रिपब्लिकन, डेमोक्रेट्स र राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनबीच गहन वार्ताका बाबजुद सिनेटमा भएको मतदानमा पक्ष र विपक्षमा बराबर अर्थात् ४७–४७ मत परेको थियो । उक्त विधेयक पारित गर्न १०० सदस्यीय सिनेटमा ६० मत आवश्यक पर्ने व्यवस्था छ ।

 

सिनेटर र्यान्ड पल समेतका ५ जना रिपब्लिकन सिनेटरहरु अहिले स्व–क्वारेन्टाइनमा रहेका छन् । उनीहरू सिनेटको मतदानमा उपस्थित भएका थिएनन्।आर्थिक सहयोगको उक्त विधेयक पारित गर्न आइतबार विस्तृत छलफल भए पनि सहमति जुट्न सकेको थिएन ।

 

सिनेटमा वरिष्ट डेमोक्रेट्स सदस्य चक सुमर र अमेरिकी अर्थमन्त्री स्टिभन मुन्चिनबीच ‘आर्थिक प्याकेजमा सहमति जुटाउन राती अबेरसम्म वार्ता भएको’ सुमरका एक प्रवक्ताले बताए ।

 

सिनेटमा सहमति हुन नसक्दा त्यसको पहिलो असर सोमबारको अमेरिकी शेयर बजारको कारोबारमा देखिने छ । पछिल्ला दुई महिनामा नै अमेरिकी शेयर बजार डाउजोन्समा झण्डै १० हजार अंकको गिरावट आइसकेको छ ।पछिल्ला दिनहरुमा मुख्य अमेरिकी स्टक एक्सचेन्जमा चार प्रतिशत वा सोभन्दा बढी घट्दै गएको छ ।

 

सिनेटका बहुमत पक्षका नेता मिच म्याकोनेलले आर्थिक प्याकेज पारित नभएपछि डेमोक्रेटिक पार्टीमाथि चर्को आलोचना गरेका थिए । उनले अमेरिकी कङ्ग्रेसले तुरुन्तै उचित कदम नचाले अमेरिकाले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु पर्ने चेतावनी दिए।

 

उनले ‘अमेरिकी अर्थव्यवस्था र अमेरिकी जनतासँग खेलवाड गर्ने अहिले समय होइन । हामीले जनतामा संसद र सरकार तिम्रो साथमा छ भन्ने भरोसा जगाउन सक्नु पर्दछ ।’

 

डेमोक्रेटिक सिनेट सदस्य सुमरले संसदमा प्रस्तुत विधेयकले अमेरिकी कामदारलाई पर्याप्त मात्रामा समर्थन गर्न नसक्ने दाबी गरे । उनले अर्थव्यवस्थामा आउने संकटका कारण करोडौंले आफ्नो जागिर गुमाउने जोखिम रहेको बताउँदै प्रस्तावित विधेयकले उत्पन्न हुनसक्ने श्रमिकलाई पर्याप्त सुरक्षा प्रदान नगरेको दाबी गरे।

 

उनले रिपब्लिकनले अस्पताल, उपकरण, चिकित्साकर्मी र अन्य स्वास्थ्य सेवा पूर्वाधारको कमीलाई सम्बोधन गर्न पर्याप्त रकम व्यवस्था नगरेको आरोप लगाए ।

-एजेन्सी

लकडाउनमा सुनसान काठमाडौंका सडक (फोटोफिचर) Read Previous

लकडाउनमा सुनसान काठमाडौंका सडक (फोटोफिचर)

लकडाउनका बेलामा पनि सबै बैंकका एटीएम खुला हुने Read Next

लकडाउनका बेलामा पनि सबै बैंकका एटीएम खुला हुने