तरकारी बजारमा समेत घट्यो चहलपहल

काठमाडौं । सधैं भीडभाड र व्यस्त रहने काठमाडौंकै सबैभन्दा ठूलो तरकारी बजार कालिमाटी फलफूल तथा तरकारी बजारमा मानिसहरुको चहलपहल कम हुन थालेको छ । दैनिक उपभोग्य वस्तु तरकारीको कारोबार समेत आजबाट कम हुन थालेको हो ।

 

मानिसहरु कोरोना संक्रमणको त्राससँगै उपत्यकाबाट बाहिरिन थालेपछि आजबाट तरकारीको विक्री वितरणमा कमी हुन थालेको कालिमाटी फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए ।

 

यस्तै कोरोनाको प्रभावसँगै भारतका सबै नाका बन्द भएपछि कालिमाटी बजारमा तरकारी कमी आउन सक्ने अनुमान गरिएको छ । संघका अध्यक्ष घिमिरेका अनुसार आइतरबारसम्म बजारमा तरकारीको विक्री वितरण तथा आपूर्तीमा कुनै कमी आएको थिएन ।

 

आजबाट अलि कमी आउन थालेको बताए । उनले उपत्यकाबाट बाहिरिनेहरु दैनिक बढेकाले विक्री तथा आपूर्तीमै कमी आउन सक्ने बताएका हुन् ।सरकारले भारतीय नाका समेत सबै बन्द गर्ने निर्णय गरेकाले त्यसले समेत भारतबाट आयात हुने तरकारीको मूल्यमा उतारचडाव ल्याउन सक्ने उनले बताए ।

 

‘बजारमा चहल पहल कम भइरहेको छ, उपत्यकाबाट बाहिरिने धेरै भएकाले आजबाट धेरै खपत नहुन सक्छ,’ सबै नाका बन्द भयो भने केही तरकारीहरुमा मूलय अन्त्र आउन सक्छ,’ घिमिरेले चाणक्य पोष्टसँग भने ।

 

उनले आइतबार साढे ६ सय मेट्रिकटन तरकारी विक्री भएको जानकारी दिए । आजबाट यसको संखयामा कमी आउन सक्ने उनले बताए । शनिबारसम्म ११ सय मेट्रिक टनको हाराहारीमा तरकारी आपूर्ती भएको थियो ।बजारको कारोबार कमी आए बिहान ३ बजे खुल्ने बजारलाई बिहान ५ बजेमा सार्न सकिने बताए ।

 

कोरोना भाइरसको त्रासका कारण दैनिक १ लाख बढी मानिसहरु उपत्यकाबाट बाहिरिन थालेका छन् । सरकारले आजबाट लामो दूरीका साधनहरु सञ्चालनमा समेत रोक लगाउन निर्देशन दिएको छ ।

 

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्याकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेल कोरोनाकै कारण बजारमा खासै असर नपरेको बताएका छन् । उनले तरकारी तथा फलफूल दैनिक उपभोग्य वस्तुभित्र पर्ने भएको र यसको आवश्यका दैनिक भान्छामा पर्ने हुँदा व्यापारमा कुनै असर नपरेको उनले बताए ।

 

‘दैनिक उपभोग्य वस्तु भएकाले अहिलेसम्म यसमा कुनै असर परेको छैन, दैनिक आवगनमा पनि समस्या देखिएको छैन,’ पौडेलले चाणक्यपोष्टसँग भने ।

 

कोरोनाबाट सुरक्षा अपनाउनका लागि बजारमा सूचना प्रवाह भइरहेको उनले जानकारी दिए । उनका अनुसार पम्पेल्ट, माइकिङमार्फत कोरोना संक्रमणबाट सुरक्षित रहन अनुरोध गरिएको छ । उनले बजारमा धेरै भीडभाड गर्न नदिइएको बताए ।

 

यस्तै कालिमाटी बजार भित्र ७ स्थानमा हात धुने व्यवस्था मिलाइएको उनले बताए । उनले सरकारको नीति अनुसार सक्दो धेरै सूचना अपनाइरहेको बताए ।पौडेलले बजारमा सुरक्षा अपनाइएको बताए पनि कालिमाटी बजारमा आदि व्यवसायीले मात्र माक्स र पञ्जाको प्रयोग नगरेको पाइएको छ ।

 

हाल कालिमाटी बजारमा ६ सय १ स्टल रहेका छन् । बजारमा तरकारी, फलफूल माछाको कारोबार हुँदै आएको छ ।

काठमाडौंमा भेटिए कोरोना संक्रमित Read Previous

काठमाडौंमा भेटिए कोरोना संक्रमित

कोरोनाविरुद्ध कसरी लड्ने, यस्ता छन् विश्व स्वास्थ्य संगठनका सुझाव Read Next

कोरोनाविरुद्ध कसरी लड्ने, यस्ता छन् विश्व स्वास्थ्य संगठनका सुझाव