काठमाडौं । काठमाडौंमा कोरोना संक्रमित बिरामी भेटिएको छ। चैत ४ गते मंगलबार फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी एक १९ वर्षीय युवतीमा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै कतार हुँदै नेपाल प्रवेश गरेका १ नेपालीलाई कोरोना पोजेटिभ देखिएको पुष्टि गरेको छ । विदेशबाट आएका ६०० जनाको कोरोना परीक्षणका क्रममा एकजनालाई कोरोना भएको पाइएको मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै नेपालमा कोरोनाको पुष्टि हुनेको संख्या २ पुगेको छ । यसअघि चीनको वुहानबाट आएका एक नेपाली विद्यार्थीमा संक्रमण देखिएको थियो
कोरोना संक्रमित ती युवतिको अहिले टेकु अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । उनको परिवार र उनीसँग सम्पर्कमा आएका व्यक्तिहरुलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।