कोरोनाबाट अर्थतन्त्र बचाउन अस्ट्रेलिया सरकारद्वारा ४५ खर्ब राहत घोषणा

अस्ट्रेलिया सरकारले कोरोनाभाइरसको महामारीबाट भएको आर्थिक क्षतिलाई न्यूनीकरण गर्न ३८ अर्ब अमेरिकी डलर (करिब ४५ खर्ब २२ अर्ब रुपैयाँ) को राहत योजना सार्वजनिक गरेको छ । सरकारले भाइरस फैलिन नदिन आमनागरिकलाई देशभित्रै गरिने यात्रा र घुमफिरलाई पनि केही समय रद्द गर्न आग्रह गरेको छ ।

 

अस्ट्रेलियाका अर्थमन्त्री जस फ्राइडेनबर्गले आइतबार घोषणा गरिएको ६६ अर्ब अस्ट्रेलियन डलर समेत कूल १ खर्ब ८९ अर्ब अस्ट्रेलियन डलर मुलुकको अर्थव्यवस्था सुधारका लागि खर्च गरिने बताए । यो रकम कूल गार्हस्थ्य उत्पादनको करिब १० प्रतिशत हो ।

 

क्यान्बेरामा पत्रकारहरुसँग कुरा गर्दै अर्थमन्त्री फ्राइडेनबर्गले यो विशिष्ट परिस्थितिलाई सम्बोधन गर्न यस्तै विशिष्ट कदम चाल्नुको विकल्प नरहेको बताए।

 

उनले पछिल्लो राहत घोषणाले लाखौं अस्ट्रेलियाली नागरिकमा आशाको सञ्चार गराउने विश्वास व्यक्त गरे। सरकारको योजना अनुसार साना व्यवसाय र गैर नाफामूलक संस्थाहरुले एक लाख अस्ट्रेलियाली डलरसम्म अनुदान प्राप्त गर्नेछन् भने बेरोजगारको भत्तालाई दोब्बर बनाइने तथा निवृत्तीभरण प्राप्त गर्नेहरुलाई थप ७५० अस्ट्रेलियाली डलर नगद दिइनेछ ।

 

अर्थमन्त्री फ्राइडेनबर्गले आर्थिक क्षति १० दिनअघि सोचिए भन्दा निकै व्यापक रहेको पनि बताए । कोरोनाभाइरसका कारण मुलुकको अर्थव्यवस्था विगत २९ वर्षदेखिको लगातार प्रगतिपश्चात पहिलो पटक मन्दीको अवस्थामा पुग्ने खतरा रहेको छ ।

 

अस्ट्रेलियामा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या १३०० पुगेको छ भने सात जनाको मृत्यु भएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले भाइरस प्रसार हुन नदिन अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्धहरु लगाउनुका साथै गैर अस्ट्रेलियालीलाई देश प्रवेशमा रोक लगाएका छन् ।
-एजेन्सी

माथिल्लो तामाकोशीको बाँध परीक्षण सफल, असारदेखि विद्युत् उत्पादन Read Previous

माथिल्लो तामाकोशीको बाँध परीक्षण सफल, असारदेखि विद्युत् उत्पादन

काठमाडौंमा भेटिए कोरोना संक्रमित Read Next

काठमाडौंमा भेटिए कोरोना संक्रमित