काठमाडौं । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँधस्थलको परीक्षण सफल भएको छ ।
दोलखाको लामाबगरमा निर्माण भइरहेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हेडवक्र्सको काम सम्पन्न भएसँगै बाँधमा पानी थुनेर एक सातादेखि गरिएको परीक्षण सफल भएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए।
एक सातादेखि पानी थुनेर गरिएको परीक्षणमा सिभिलका सबै संरचनाहरु टोलरेन्स लेभलमा रहेको, पानी लिकेज कम रहेको र बाँध क्षेत्रको परीक्षण सफल भएको प्रवक्ता न्यौपानेले बताए ।
निर्माणको अन्तिम चरणमा रहेको आयोजनाको हेडवक्र्स अन्तर्गतको बाँध, गेट, स्टपलग आदिको परीक्षण सफल भएसंँगै आयोजना बालुवा थिग्र्याउने पोखरीको परीक्षण गर्ने तयारीमा लागेको छ । सुरुङको परीक्षणपछि अन्तमा पेनस्टकको परीक्षण गरिने र त्यो सफल भए मात्र विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ ।
अहिलेसम्म ९९.४ प्रतिशत निर्माणको काम सकिए पनि ठाडो सुरुङमा पेनस्टक पाइप जडानको काममा केही ढिलाइ भएका कारण आयोजना सम्पन्न हुन सकेको छैन । ठाडो सुरुङको दुईवटा भागमध्ये तल्लो ठाडो सुरुङ ३७३ मिटर लामो र माथिल्लो ठाडो सुरुङ ३१० मिटर लामो रहेको छ ।आयोजनाबाट आगामी असारदेखि विद्युत उत्पादन थाल्ने तयारी छ ।
अहिलेसम्म तल्लो ठाडो सुरुङमा २६० मिटर पेनस्टक पाइप जडान भएको र माथिल्लो ठाडो सुरुङमा १५० मिटर पेनस्टक पाइप जडान भएको आयोजनाले जनाएको छ ।
विसं २०६७ देखि मुख्य सिभिल निर्माण कार्यको शुरुआत गरिएको यो आयोजनाले २०७२ जेठ महिनामा पहिलो युटिनबाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको थियो । विसं २०७२ वैशाखको विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी, लामोसाँघु चरिकोट सडकको स्तरोन्नतिका कारण आयोजना निर्माणमा ढिलाइ भएको थियो ।