काठमाडौं । कोरोना भाइरसको कारण उत्पन्न संकटसँग लड्न अत्यावश्यक वस्तु उत्पादन तथा सेवा उद्योग संचालन गर्नु पर्ने हुन्छ । तर, अहिले यस्ता उद्योगमा कार्यरत कर्मचारीलाई काममा लगाउन कठिन अवस्था सृजना भएको छ ।
अहिलेको अवस्थामा काम गर्ने मजदुरलाई जवर्जस्ती काममा लगाउन सक्ने अवस्था छैन । हरेक मानिसलाई आफ्नो ज्यानको माया हुन्छ । कसलाई छुट्टी दिने, कसलाई काममा लगाउने ? काम गर्नेलाई कसरी कुरा बुझाउने ? उद्योगीहरुले गुनासो गर्न थालेका छन् ।
‘चीनमा सरकारले औषधीदेखि खाध्यान्नसम्म सबै बन्दोबस्त गरिदिएको थियो । तर, हामीकहाँ त्यो संभव छैन’, नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले भने ।
अहिले हरेकलाई आफु सुरक्षित हुनु पर्छ भन्ने छ । यस्तोमा उद्योगधन्दा कसरी संचालन गर्ने भन्ने विषयमा आफुहरुले कुनै ठोस निर्णय लिन नसकेको मुरारकाको भनाई छ ।
पानी, दुध, औषधी, खाध्यान्न, इन्धन लगायतका उद्योग संचालनमा नआउने हो भने त्यसले हाम्रो सम्पूर्ण ‘सप्लाई चेन’मा नै ठूलो असर गर्नसक्ने तर्फ सरकार सचेत रहनु आवश्यक हुन्छ ।
अहिलेको अवस्थासँग लड्न निकै कठिन रहेको सबै व्यवसायीहरुको गुनासो रहेको छ । सरकारले निर्देशन दिएपनि कतिपय उद्योग संचालन गर्न कामदारको समस्या देखिन थालेको छ ।
‘हामी उद्योग चलाउन तयार छौं तर, उद्योग चलाउन कामदार त हुनु पर्यो नि । अत्यावश्यक उद्योग संचालनको लागि अहिले निकै कठिन अवस्था आएको छ’, नेपाल उद्योग वाणिज्य महासंघका उद्योग समिति सभापति अञ्जन श्रेष्ठले चाणक्य पोष्टसँग भने ।
अहिले अत्यावश्यक उद्योग समेत संचालन गर्न सक्ने अवस्था छैन । त्यसैले सुरक्षाका सबै उपाय अपनाएर भएपनि उद्योग संचालन गर्न सकिए केही सहज हुन सक्ने श्रेष्ठ बताउँछन् ।
अस्पतालले कोरोना संक्रमण भएको शंका लागेका विरामीको भर्ना नगर्ने अवस्था सृजना भएको अवस्थामा सरकारले घोषणा गरे अनुसार सबै उद्योग बन्द गर्ने हो भने त्यसले भोलि बजारमा हाहाकार सृजना हुन सक्छ । त्यसैले सबै सजग भएर काम गर्न पर्ने अवस्था रहेको जानकारहरु बताउँछन् ।
पानी, दुध, औषधी, खाध्यान्न, इन्धन लगायतका उद्योग संचालनमा नआउने हो भने त्यसले हाम्रो सम्पूर्ण ‘सप्लाई चेन’मा नै ठूलो असर गर्नसक्ने तर्फ सरकार सचेत रहनु आवश्यक हुन्छ ।
‘सबैले सावधानी पूर्वक अत्यावश्यक उद्योग संचालन गर्नु पर्ने अवस्था आएको छ । अहिले सबैले आफ्नो स्वास्थयको ख्याल गर्दै आफु कार्यरत सेवाको आवश्यकता मध्यनजर गरेर उद्योग संचालन गर्नु पर्ने अवस्था रहेको छ’, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भने ।
अहिलेको अवस्था भनेको सबैले सजकता अपनाएर काम गर्नु पर्ने रहेकाले बजारमा अत्यावश्यक सेवा नरोक्ने गरि काम अघि बढाउनु पर्ने देखिएको हो ।
बैंक तथा वित्तिय संस्थाले आफ्ना शाखा कम मात्रै खोल्ने र सुरक्षाका सबै उपाए अबलम्बन गर्ने तयारी गरिरहेको जानकारी दिएका छन् ।‘नजिक रहेका शाखाहरु मध्य केही मात्र खोल्ने तयारी भइरहेको छ । स्टाफको रोटेशन गर्दै शाखा सञ्चालन गर्छौं’, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले भने ।
उनले बैंकले आफ्नो मोवाइल बैंकिङ सेवालाई निःशुल्क गर्ने तयारी गरिरहेको समेत जानकारी दिए ।
‘अहिले डिजिटल पेमेन्ट सिस्टम प्रायः सबै निःशुल्क भएकाले धेरै मानिसले घरबाटै आफ्नो कारोवार गर्न सक्ने छन् । यसले बैंकमा अनावश्यक लाग्ने भिड कम हुने र बैंकमा काम गर्ने स्टाफलाई पनि सजिलो हुन्छ’, शेरचनले भने ।