काठमाडौं । कोरोनाको सङ्क्रमणलाई ध्यानमा राखेर नेपाल व्यापार सङ्घले यही चैत २१ गतेसम्म व्यापार व्यवसाय बन्द गर्ने भएको छ ।
सङ्घको आज बिहान बसेको पदाधिकारी बैठकले कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि फैलन सक्ने जनाउँदै सो दिनसम्म सम्पूर्ण बजार बन्द गर्ने निर्णय गरेको हो ।
सङ्घका अध्यक्ष कुमार कार्कीले सरकारले अत्यावश्यकबाहेक सेवा बन्द गर्ने निर्णय गरेकालेसङ्घले पनि बजार बन्द गर्ने निर्णय गरेको जानकारी दिए । ‘व्यापार सङ्घमा आबद्ध व्यवसायीलाई अत्यावश्यक सामानबाहेक अरु सामग्री बिक्रीवितरण बन्द गर्ने निर्णय गरेका छौँ’ उनले भने ।
अध्यक्ष कार्कीले अत्यावश्यक वस्तुको विक्रीवितरण पारदर्शी र प्रभावकारी बनाउनुपर्ने समेत बताए। बैठकले कोभिड-१९ का कारण उद्योग, तथा व्यापार क्षेत्रसमेतमा ठूलो धक्का लागेकाले बैंक तथा वित्तीय क्षेत्रलाई व्याजदर र घरधनीलाई घरभाडामा विशेष सहुलियत दिन मागसमेत गरेको छ ।
विसं २०४७ मा स्थापित सङ्घमा हाल झण्डै एक हजार व्यवसायी आबद्ध छन् ।