काठमाडौं । नेपाल स्टक्स एक्सचेन्ज (नेप्से)ले सेयर कारोबारका लागि स्वचालित अनलाइन प्रणाली खुला गरेको छ ।
नेप्सेले विद्युतीय कारोबार रोक्न सरकारले स्पष्ट निर्देशन नदिएको भन्दै आनलाइन कारोबार खुला गरेको हो । यद्यपि ब्रोकरबाट हुने कारोबार भने बन्द गरिएको ब्राेकर एशाेसिएशनले जनाएकाे छ ।
यससँगै लगानीकर्ताले अनलाइन प्रणलीमार्फत सेयर कारोबार गर्न सक्ने भएका छन् भने ब्रोकर कार्यालयमा गएर सेयर खरिद विक्री गर्न नपाउने भएका छन् ।
नेप्सेले अनलाइन कारोबार खुला गरेको जनाए पनि ब्रोकर कार्यालयहरूले आफ्नो युजर लग इन नगरेकाले लगानीकर्ताले सेयर कारोबार गर्न भने पाएका छैनन् ।
शनिबार ब्रोकर एशोसिएशन र मर्चेन्ट बैंकर एसोशियशनले बजार बन्द गर्ने निर्णय गरिसकेका छन्। आजै ५ ओटा लगानीकर्ता संघले सेयर बजार बन्द गर्न माग गर्दै नेप्से कार्यालयमा पुगेका छन् ।
लगानीकर्ता संघले कुल सेयर कारोबार गर्ने लगानीकर्तामध्ये १ प्रतिशत मात्र अनलाइन प्रयोगकर्ता भएकाले ९९ प्रतिशत लगानीकर्ता कारोबार गर्नबाट बञ्चित हुने भएकाले कारोबार बन्द गर्न माग गरेका हुन् ।
