कोभिड-१९ को जोखिमको असर व्यवसायमा असर परेपछि तनहुँको बन्दीपुर गाउँपालिकाले व्यावसायिक करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । व्यापार व्यवसाय ठप्प भएपछि गाउँपालिकाले चालू आर्थिक वर्ष ०७६/७७ का लागि सो छुट दिने निर्णय गरेको हो ।
गाउँपालिकाले गरेको सो निर्णयको यहाँका व्यवसायीले खुशी व्यक्त गरेका छन् । गाउँपालिकाको निर्णय स्वागतयोग्य रहेको तनहुँ उद्योग वाणिज्य संघबन्दीपुरका अध्यक्ष वैश गुरुङले बताए ।
‘व्यवसायीको पीर मर्का बुझेर गाउँपालिकाले गरेको निर्णयले व्यवसायीलाई राहत पुग्नेछ,’ उनले भने । बन्दीपुर यतिबेला पर्यटकीय चहलपहल हुने मौसम रहे पनि सो भाइरसको कारण पर्यटक नआएपछि बन्दीपुरको पर्यटन व्यवसाय प्रभावित बनेको अध्यक्ष गुरुङले बताए।
व्यापार व्यवसाय नहुँदा व्यवसायीलाई कर लगायतका ऋण तिर्न पनि समस्या हुने अवस्था आइपरेको बन्दीपुर पर्यटन विकास समितिका सचिव एवं होटल व्यवसायी वसन्त पौडेलले जानकारी दिए।
‘ऋण गरेर व्यवसाय शुरु गर्ने व्यवसायीलाई कोभिड-१९ का कारण ब्याज तिर्न पनि मुस्किल हुने अवस्था आइपरेको छ,’ उनले भने, ‘गाउँपालिकाले व्यावसायिक करमा छुट गर्ने निर्णयले केही भए पनि राहत दिनेछ ।’
व्यवसायीलाई हतोत्साही हुन नदिन व्यावसायिक करमा छुट दिने निर्णय गरिएको बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिए । गाउँपालिकाले वित्तीय सङ्घसंस्थालाई ब्याजदर कम गर्न तथा घरधनीहरुलाई घरभाडा शुल्कमा सहुलियत दिनसमेत अनुरोध गरेको उनले बताए ।