काठमाडौं । काठमाडौं महानगरपालिकाले कोभिड-१९ को जोखिम हुन नदिन ल्यान्डफिल साइट क्षेत्रबाट कवाडी सामान सङ्कलन गर्न निषेध गरेको छ ।
काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन हुँदै आएको नुवाकोट ककनीको ल्यान्डफिल साइटबाट हरेक दिन कवाडी सामग्री संकलन हुने गर्दथ्यो । विगत १३ वर्षदेखि सो स्थानमा फोहर व्यवस्थापन हुँदै आएको थियो ।
सफाइ कर्मचारीलाई अनिवार्य मास्क, पञ्जा, टोपी र जुत्ता लगाउन आग्रह गरिएको कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठ जानकारी दिए। त्यस्तै आइतबारदेखि विभागको प्रवेशद्वारमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिनेभएको छ ।
टेकुस्थित ट्रान्सफर स्टेशन, सिसडोलस्थित ल्यान्डफिल साइट र फोहर ढुवानी हुने सडकमा कीटनाशक औषधि छर्कने मात्रा बढाइने भएको छ । जोखिमपूर्ण सेवामा काम गर्ने कर्मचारीको बीमा प्रक्रिया विभागले अघि बढाएको छ ।
विभागले आजै एक सूचना जारी गर्दै महानगरवासीलाई जथाभावी फोहर सडकमा ननिकाल्न अनुरोध गरेको छ । कोरोना भाइरसको जोखिममा रहेकाले यस जोखिमपूर्ण अवस्थामा सरसफाइसम्बन्धी काममा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
सूचनामा भनिएको छ, ‘आ-आफ्नो घर/पसल/उद्योग/कलकारखाना/व्यवसाय तथा कार्यालयबाट उत्सर्जन हुने फोहरलाई कुहिने र नकुहिने भागमा छुट्यार तोकेको समय र गाडी आएको समयमा मात्र बाहिर निकाल्न आग्रह गरिन्छ ।’
विभागले कुहिने फोहरलाई सकेसम्म आफैँ व्यवस्थापन गर्न र नकुहिने फोहर मात्र निश्चित समयमा बाहिर निकाल्न आग्रह गरेको छ ।