काठमाडौं । अब ब्रोकर कार्यालयमा गएर सेयर कारोबार गर्न नपाइने भएको छ । कोरोना भाइरसको संभावित संक्रमणको जोखिमलाई मध्येनजर गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कार्यालयलाई ‘स्क्रिन एक्जिविसन रुम’ बन्द गर्न निर्देशन दिएको छ ।
बोर्डको निर्देशनसँगै अब लगानीकर्ताले ब्रोकर कार्यालयमा दिनभर बसेर सेयर कारोबार गर्न नपाउने भएका हुन् । अब लगानीकर्ताले अनलाइनमार्फत मात्र कारोबार गर्नुपर्नेछ ।
बोर्डले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमणतर्फ सचेतता अपनाउन कार्यालयमा एक पटकमा ५ जनाभन्दा बढी संख्यामा भीड नगर्न, कार्यालयमा कर्मचारी र लगानीकर्ता प्रवेश गर्दा हात सफा गर्ने, स्यानिटाइजर र मास्क प्रयोग गर्न आग्रह गरेको छ ।
यस्तै बोर्डले तापक्रम नाप्ने व्यवस्था गर्न, प्रवेशद्वारमा कोरोनासम्बन्धी सूचनामूलक जानकारी राख्न, कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको चैत ५ गतेको निर्णय कार्यान्वय गर्न आग्रह गरेको छ ।
